काठमाडौं– पछिल्लो समय मौसममा देखिएको अदलीबदलीका कारण तराई, पहाडमा समेत जनजीवन छटपटीमा परेको छ। विगत वर्षमा तराई क्षेत्रमा मात्रै गर्मी हुने र पहाडतिर खासै प्रभाव नपर्ने गरेकामा यस वर्ष गर्मी क्रमशः उकालो चढिरहेको छ।
राजधानी काठमाडौंसहित हिमाल, पहाडी र तराई क्षेत्रमा गर्मीको पारो क्रमशः उक्लिँदै छ। प्छिल्लो समय धनगढीमा शुक्रबार ४६ डिग्री सेल्सियस मापन गरिएको थियो। भैरहवा, बुटवल, नेपालगञ्ज, विराटनगर, जनकपुर, पोखरा, चितवनलगायत स्थानमा पनि गर्मीका कारण जनजीवन अस्तव्यस्त हुन थालेको छ।
खेतीपातीको समय भएकाले बारीमा लगाइएको मकै बोटसमेत अधिक गर्मीका कारण सुक्न थालेका छन्। पछिल्लो समय अत्यधिक गर्मीका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ। गर्मी बढेसँगै विद्यार्थी कक्षाकोठामै बेहोस भएर ढल्न थालेपछि तराईका साथै पहाडी जिल्लाका अधिकांश विद्यालयमा पढाइ बन्द भएको छ।
स्थानीय तहले वर्षे बिदामा कटौती हुने गरी पढाइ बन्द गर्न विद्यालयलाई निर्देशन दिएका छन्। केही स्थानीय तहले सम्बन्धित विद्यालयलाई आफू अनुकूल निर्णय गरेर पढाइ व्यवस्थापन गर्न अनुमति दिएका छन्। तापक्रम बढेर तातो हावा ‘लु’ चल्न थालेपछि बाँके, बर्दिया, सुर्खेत, महोत्तरी, सर्लाही, धनुषा, रौतहट, बारा, पर्सालगायत तराई क्षेत्रका अधिकांश जिल्लाका स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
काठमाडौंमा पढाइ बन्द नभए पनि बिहानको समयमै अत्यधिक गर्मी भएपछि केही विद्यालयले बिहानको प्रार्थनासभा बन्द गराएका छन् । तनहुँ, गोरखा, धादिङलगायत पहाडी क्षेत्रमा समेत गर्मीका कारण विद्यालय बन्द भएका छन्।
धादिङको बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्मबहादुर मल्लले आफ्नो अवस्था हेरेर विद्यालय बन्द गर्न सकिने निर्णय गरिएको जानकारी दिए। एकै गाउँपालिकामा पनि भौगोलिक अवस्था अनुसार तापक्रम फरक–फरक हुने हुनाले यस्तो निर्णय गरिएको हो।
नुवाकोटको विदुर नगरपालिकाका शिक्षा अधिकारी देवीप्रसाद अधिकारीले गर्मीका कारण विद्यार्थी, शिक्षक समस्यामा परेको विषयमा छलफल भए पनि कति दिन विद्यालय बन्द गर्ने भन्ने विषयमा निर्णय गर्न समस्या परेको बताए। शिक्षा मन्त्रालयले पनि गर्मीका कारण विद्यार्थीको पढाइमा असर परेको जनाएको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यालय बन्द गर्ने विषयमा सम्बन्धित स्थानीय तहले निर्णय गर्न सक्ने भएकाले आफूहरूको निर्देशन आवश्यक नपर्ने बताए।


