काठमाडौं– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताएका छन्। शनिबारदेखि महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी गृहमन्त्री श्रेष्ठले आज बिहान बर्दिबास–४ माईस्थानमा स्थानीयसँगको भेटमा राजनीतिक हैसियत देखाएर भएको भ्रष्टाचारमा संलग्न जोसुकैलाई कारबाही गरिने प्रतिबद्धता जनाएका हुन्।
उनले भने, ‘जोसुकै होस्, गलत गर्ने कारबाहीको भागी बन्छ। अब राजनीतिक हैसियत र टठ्याइँ देखाएर उन्मुक्ति पाइँदैन।’ यसअघि राजनीतिक दलका नेताहरूले जिम्मेवारी र दायित्व नबुझ्दा जनताले सुशासनको प्रत्याभूति पाउन नसकेको उनको भनाइ छ।
‘गरिबीको दुष्चक्रमा पिसिएका जनताले अझै निर्धक्क आफ्ना कुरा सम्बद्ध अधिकारीसम्म भन्न सक्ने स्थिति छैन। ती वर्गका जनताले लोकतन्त्रको महसुस गर्न सक्नुपर्छ। प्रहरी, प्रशासनिक अधिकारी र सम्बद्ध पक्षले कुनै लाउके वा बिचौलियाको होइन, सीधै पीडितको कुरा सुन्ने र निदान दिने परिपाटी बढाउनुर्छ।’
पछिल्लो समय मिटरब्याजविरुद्ध जनता उठ्न खोजे पनि जनप्रतिनिधिको अपेक्षित साथ नपाएका उनको गुनासो थियो। ‘मिटरब्याज पीडितले आफ्नै प्रतिनिधिको राम्रो साथ पाएका छैनन्। मिटरब्याजी सामाजिक अपराधीमा अझै दरिएका छैनन्। यो अवस्था अन्त्यका लागि प्रहरी÷प्रशासनिक निकाय र स्थानीय तहका प्रतिनिधिमा थप प्रतिबद्धता आवश्यक छ’, उनले भने।
शनिबार जिल्ला सदरमुकाम जलेश्वर र रामगोपालपुरमा आयोजित कार्यक्रममा पनि उपप्रधानमन्त्री श्रेष्ठले सुशासनको प्रत्याभूति सरकारको प्राथमिक दायित्व भएको बताएका थिए।


