काठमाडौँ: काठमाडौंका प्रमुख बजार क्षेत्रहरूमा अँग्रेजी नयाँ वर्षको अवसरमा चहलपहल देखिएको छ।
स्थानीय व्यापारीहरूका अनुसार अघिल्ला दिनको तुलनामा आज केही भीडभाड बढे पनि अवस्था असाधारण भने छैन। इन्द्रचोक, असन, न्यूरोड, ठमेललगायतका क्षेत्रमा व्यापारिक गतिविधि सामान्य छ। नयाँ वर्षको अवसरमा मानिसहरू घुमफिर र मनोरञ्जनमा व्यस्त हुने गरेकाले किनमेलमा मानिसहरुको भीड खासै देखिँदैन। इन्द्रचोकका व्यवसायी मनोज चौधरीका अनुसार अँग्रेजी नयाँ वर्ष नेपालीहरूको मौलिक पर्व नभए पनि नेपालीहरूले यसलाई रमाइलोका रूपमा मनाउने गरेका छन्।
उनका अनुसार दिन ढल्दै जाँदा अझै भीडभाड बढ्ने सम्भावना छ। ठाउँ–ठाउँमा मानिसहरू फोटो खिच्दै, भेटघाट गर्दै नयाँ वर्षलाई उत्साहका साथ स्वागत गरिरहेको दृश्य देख्न सकिन्छ। जुत्तापसलमा काम गर्दै आएका सुरज तामाङले अव नेपाली नयाँ वर्ष जति पनि चहल पहल देखिन्छ अँग्रेजी वर्षमा त्यति चहलपहल नहुने बताए। उनले हिजो अस्ति भन्दा अलिकति मानिसहरुको हिँडडुल तथा फोटो भिडियो खिच्नेहरुको संख्या बढेको छ।
त्यस्तै साडीको व्यापार गर्दै आएका नारायण हुमागाईंले अँग्रेजी नयाँ वर्षमा व्यापारमा फरक नपरेको बताए। उनले भने, ‘व्यापारको दृष्टिले भने बजारमा अपेक्षित चहलपहल देखिएको छैन। नयाँ वर्षमा किनमेलभन्दा बढी घुमफिर र पारिवारिक भेटघाटमा मानिसहरूको ध्यान केन्द्रित हुने गरेको उनले बताए।
विदेशी पर्यटकहरू पनि किनमेलभन्दा होटल, खानपिन र घुमफिरमै व्यस्त देखिएका छन्। समग्रमा अंग्रेजी नयाँ वर्ष काठमाडौंमा सामान्य चहलपहल र सीमित व्यापारका बीच रमाइलो वातावरणमा मनाइँदै गएको छ।


