काठमाडौँ: नेपाली कांग्रेसभित्र विशेष केन्द्रीय महाधिवेशनको माग पुनः तीव्र बनेको छ। पार्टी विधानअनुसार १५औँ महाधिवेशन तोकिएको समयमा हुन नसकेपछि बहुमत महाधिवेशन प्रतिनिधिहरूले पुस २७–२८ मै विशेष महाधिवेशन गर्न केन्द्रलाई अल्टिमेटम दिएका छन्। विशेष महाधिवेशन पक्षधर नेताहरूले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सो माग गरेका हुन्।
महाधिवेशन प्रक्षधरहरूले पार्टी विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशन अब विकल्प नभइ अनिवार्यता बनेको दाबी गरेका छन्।कांग्रेससँग अब विशेष महाधिवेशनबाहेक अन्य विकल्प बाँकी नरहेको उनीहरूको तर्क छ।
पूर्वनिर्धारित कार्यतालिका अनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहले पुस २७-२८मा महाधिवेशन गर्ने तयारी गरिरहेका छन्। जसका लागि भृकुटीमण्डपको हल समेत बुक भैसकेको छ।
यस्तो छ विशेष महाधिवेशन पक्षधरको प्रेस विज्ञप्ति
नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनका सन्दर्भमा हाम्रो स्पष्ट धारणा सार्वजनिक गर्न आज यहाँ पुनः उपस्थित भएका छौँ।
नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसका लागि महाधिवेशन केवल नियमित प्रक्रिया मात्र होइन, पार्टीको जीवनधारा नै हो। गत भाद्र २३ २४ पछिको विशेष राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई थप सुदृढ, गतिशील र जनभावना अनुरुपको बनाउन, समसामयिक नीति निर्माण गर्न तथा नयाँ ऊर्जा र नेतृत्वसहित पार्टीको पुनर्निर्माणका लागि विशेष निर्णय गर्न महाधिवेशन अपरिहार्यताबारे हामीले निरन्तर आवाज उठाउँदै आएका छौँ। तत्काल केन्द्रीय कार्यसमिति बैठक बसी विधानले तोकेको समयसीमा (२०८२ मंसिर) भित्र १५औं महाधिवेशन गरियोस् अन्यथा पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन आह्वान गरोयोस् भनि हामीले जोडदार रूपमा माग गरेका थियौँ। महाधिवेशन आयोजनामा देखिएको निरन्तर ढिलाइ र उदासीनताप्रति हामीले बारम्बार खबरदारी पनि गर्दै आएका थियौँ।
विधानसम्मत लोकतान्त्रिक प्रक्रियाद्वारा पार्टीमा आमूल सुधार गर्न एकमात्र उपाय महाधिवेशन हो भन्ने निष्कर्षमा पुगेर नै गत असोज २९ गते पार्टी विधानको धारा १७(२) बमोजिम देशभरका २४८८ (५४ प्रतिशतभन्दा बढी) महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका थियौँ। यो विधानको बाध्यकारी तथा अनुलंघनीय व्यवस्था हो। यस्तो माग दर्ता भएपछि निर्धारित समयसीमाभित्र विशेष महाधिवेशन बोलाई सम्पन्न गर्नु केन्द्रीय कार्यसमितिको वैधानिक दायित्व पनि हो। बहुमत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर सहित निवेदन दिएपछि पार्टी बैठक यही एजेन्डामा प्रवेश गर्नुपर्दथ्यो। तर केन्द्रीय कार्यसमितिले यसलाई औपचारिक एजेन्डा समेत बनाउन आवश्यक ठानेन।
अन्ततः असोज २८ देखि मंसिर १५ सम्म केन्द्रीय समितिको ४८ दिनसम्म चलेको लामो बैठकबाट १५औं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेपछि उक्त कार्यतालिका प्रथम दृष्टिमै अविश्वशनीय देखिए तापनि शंकाको सुविधासहित हामीले यसलाई सकारात्मक रूपमा लिएर कार्यान्वयनमा साथ दिएका थियौँ। त्यसयता हामीले बारम्बार ध्यानाकर्षण गराउँदै आएका छौँ कि; तोकिएको समयमा १५औं महाधिवेशन नभए स्वतः विशेष महाधिवेशन हुनुपर्दछ। तर पार्टी केन्द्रको अस्पष्ट नीति, जालझेल, ढिलासुस्ती र केही समूहको पार्टीको सत्तामा रहिरहने कपटपूर्ण सोचका कारण घोषित पौष २६-२८ को महाधिवेशन प्रभावित भएको छ, १६ गते हुनुपर्ने वडा अधिवेशन हुन सकेन, तर केन्द्रीय कार्यसमिति यसप्रति सामान्य जवाफदेही समेत नदेखिनु विडम्बनाको विषय हो। अहिले १५औं महाधिवेशनको कार्यतालिकाका कार्यक्रम स्थगित भइसकेका छन्। अर्थात घोषित मितिमा १५ औं महाधिवेशन नहुने कुरा स्पष्ट भइसकेको छ।
हामीले कार्यतालिका सार्वजनिक हुँदै स्पष्ट चेतावनी दिएका थियौँ’ ‘घोषित समयमा महाधिवेशन नगरी मिति सार्ने कुनै सुविधा हुने छैन। यस्तो अवस्थामा असोज २९ मा दर्ता भएको विशेष महाधिवेशनको माग जीवित रहने छ र सोको कार्यान्वयन गर्नु पार्टीको अनिवार्य कर्तव्य बन्नेछ।’
अब स्पष्ट छ— नेपाली कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प बाँकी रहेन। विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकार हो। यो कसैको छनोटको विषय होइन, रहेन। नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले आफ्नो विधानको वाध्यकारी व्यबस्था नमान्ने हो भने संविधान, विधिको शासनको वकालत गर्दै नागरिकमा जाने नैतिक धरातल कसरी रहन्छ ? अतः पार्टी विधानभन्दा माथि कोही पनि हुन सक्दैन। विधानको बाध्यकारी व्यवस्थाको पालना गर्नु पार्टी नेतृत्वको न्यूनतम जिम्मेवारी हो।
तसर्थ, विधानले तोकेको समयसीमा ‘तीन महिना’ अर्थात् २०८२ पौष २८ भित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नैपर्ने हुँदा विधानको सीमाभित्र रही हामी विशेष महाधिवेशन मागकर्ताहरूको निवेदनअनुसार आगामी पौष २७-२८ मा विधानको धारा १७(२) बमोजिम केन्द्रले विशेष महाधिवेशन गर्न पुनः जोडदार माग गर्दछौँ।
हामीलाई विश्वास छ-पौष २७-२८ मा विशेष महाधिवेशन गर्ने जिम्मेवारी केन्द्रले पूरा गर्नेछ।
हामी स्पष्ट गर्न चाहान्छौँ-यो माग कसैको जित र हारको रूपमा नलिई पार्टीको एकता कायम राख तथा पार्टीको आन्तरिक लोकतन्त्र जोगाउँदै जनताप्रति जवाफदेही बन्ने अवसरको रूपमा ग्रहण गरी नेपाली कांग्रेसलाई नयाँ ऊर्जा, एकता र दिशासहित अघि बढाउन पार्टी नेतृत्वसमक्ष विनम्रतापूर्वक अनुरोध पनि गर्दछौँ।
विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरू
पौष १८, २०८२


