काठमाडौँ: आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि ललितपुर क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सम्भावित उम्मेदवारका रूपमा सुरेन्द्र बजगाईको नाम अगाडि आएको छ। महांकाल गाउँपालिका–४, कालेश्वरका स्थायी बासिन्दा बजगाई हाल काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह ‘बालेन’को सल्लाहकार हुन्।
उनी महानगरको सहरी योजना आयोगमा शिक्षा, स्वास्थ्य, सामाजिक, वातावरण तथा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत छन्।
रास्वपा स्रोतका अनुसार बजगाईको नाम पार्टीको समानुपातिक बन्द सूचीमा समेत प्रस्ताव गरिएको थियो। बालेन सचिवालय र जेनजी समूहबाट समेत उनको नाम समानुपातिकमा अगाडि सारिएको थियो।
समानुपातिकमा नाम नराखेर उनलाई ललितपुर–१ बाट प्रत्यक्षतर्फ उठाउने तयारी रहेको बुझिएको छ। ललितपुर १ मा प्रत्यक्ष उम्मेदवारको खोजी हुँदा बालेन निकट सुरेन्द्र नै उपयुक्त व्यक्ति रहेको चर्चापछि उनको नाम समानुपातिक सूचीबाट फिर्ता गरिएको रास्वपाका एक नेताले बताए।
ललितपुर क्षेत्र नम्बर १ मा २०४८ सालदेखि नै निर्वाचन क्षेत्रभन्दा बाहिरका उम्मेदवारहरूको वर्चस्व रहँदै आएको छ। यसअघि यस क्षेत्रबाट केशरबहादुर विष्ट, वर्षमान पुन, उदय शमशेर राणा, नवराज सिलवाललगायत नेताहरू चुनाव लडेका छन्। राजनीतिक दलको शक्ति, केन्द्रको पहुँच र राष्ट्रिय स्तरको पहिचानका कारण उनीहरू विजयी भए तापनि स्थानीय मुद्दा र आवश्यकता भने प्राथमिकतामा पर्न नसकेको गुनासो त्यहाँका स्थानीयको छ।
चुनाव जितेर काठमाडौँ पुगिसकेपछि ती नेताहरू जनताबाट टाढिँदै गएको गुनासो स्थानीय स्तरमा सुनिन्छ। आफूले मत हालेर पठाएको प्रतिनिधिको घरमा जाँदा पाँचवटा गेट पार गरेर पनि भित्र छिर्न नसकिने, र छिरे पनि नेताको ‘दर्शन’ पाउन नसकिने अवस्था रहेको स्थानीयहरूको भनाइ छ। यसले जनप्रतिनिधि र जनताको दूरी बढाएको मात्र होइन, लोकतन्त्रप्रतिको भरोसामाथि समेत प्रश्न खडा गरिदिएको छ।
काठमाडौं महानगरका मेयर बालेनका प्रेस सल्लाहकार रहेर बटुलेको अनुभवका आधारमा बजगाईलाई वैकल्पिक राजनीतिक धारको युवा प्रतिनिधि मानिन्छ।
हाल काठमाडौं महानगरपालिकामा उनी मिडिया समन्वय, शिक्षा, स्वास्थ्य, सामाजिक, वातावरण तथा विपद् व्यवस्थापनको क्षेत्रमा र स्थानीय सरकार–मिडिया सम्बन्ध सुदृढीकरणमा संलग्न छन्। महानगरको नीतिगत काम, सहरी व्यवस्थापन र सुशासनका विषयलाई जनतासम्म पुर्याउने जिम्मेवारीमा रहेका बजगाईलाई व्यवहारिक र नीतिगत दुवै पक्षको अनुभव भएको व्यक्तिका रूपमा हेरिन्छ।
काठमाडौं महानगरपालिका भन्दा पहिला उनी नेपालको विभिन्न सञ्चार माध्यममा सक्रिय रहेर काम गरेका थिए। उनले नेपाल लाइभ, नेपालवाच, उकेरा, रुटिन अफ नेपाल बन्द, बाह्रखरी र इकागजजस्ता राष्ट्रिय सञ्चारमाध्यममा पत्रकारका रूपमा काम गर्दै सुशासन, सार्वजनिक नीति र सामाजिक मुद्दा कभर गरेका छन्। पत्रकारितामार्फत राज्य संयन्त्र, राजनीति र प्रशासनको नजिकबाट अध्ययन गर्ने अवसर पाएका बजगाई पछिल्लो समय संस्थागत सञ्चार र सार्वजनिक सूचनामा केन्द्रित छन्।
ग्रामीण विकास विषयमा स्नातक अध्ययन गरेका बजगाई त्रिभुवन विश्वविद्यालय अन्तर्गत समाजशास्त्रमा स्नातकोत्तर गर्दै छन्। सामाजिक न्याय, पारदर्शी शासन, जवाफदेही राजनीति र नागरिक सहभागिता उनको मुख्य चासोका क्षेत्र भएको उनी बताउँछन्।
बजगाई सञ्चार तथा सार्वजनिक नीतिको क्षेत्रमा लामो समयदेखि सक्रिय छन्। उनी उज्ज्वल थापाले स्थापना गरेको विवेकशील नेपाली दलमा आबद्ध थिए। यसका अलावा उनी सामाजिक अभियानमा समेत सक्रिय थिए। सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि बजगाईले २०७२ सालको नाकाबन्दीको समयमा काठमाडौं–वीरगन्ज–जनकपुर पैदल यात्रा गरेका थिए। हुलाकी राजमार्ग मार्फत भएको उक्त यात्रामा बजगाईले नाकाबन्दीको स्थानीय कारण र समस्याको बारेमा स्थानीयहरूको आवाज उठाउँदै हिँडेका थिए। यस्तै टिकापुरमा भएको घटना पछि काठमाडौं– लुम्बिनी–टिकापुर साइकल यात्रा गरेका थिए। यी दुवै यात्रामा बजगाईले स्थानीय मानिसको आवाज सुन्दै त्यसलाई राष्ट्रिय बहसमा ल्याउने प्रयत्न गरेका थिए।
उनले द आर्ट अफ लिभिङ मार्फत ललितपुरका विभिन्न गाउँ–गाउँमा पुगेर राहत सामग्री वितरण गरेका थिए। त्यसैगरी, कालेश्वरस्थित बाघभैरव प्राविधिक विद्यालयमा न्यानो कपडा वितरण गर्नुका साथै, गत वर्ष आएको बाढी–पहिरोका कारण प्रभावित महाङ्काल गाउँपालिकामा राहत सामग्री वितरण गरेका थिए। साथै, खानेपानीको समस्या भएका वडाहरूमा खानेपानीका विभिन्न संघ संस्थाको सहयोगमा पाइपसमेत वितरण गरेका थिए। उनी आफ्नो क्षेत्रमा मात्रै नभएर देशको जुनसुक्कै स्थानमा परेको विपत्ति समयमा राहत र उद्दारको लागि खटिने गरेका छन्।
यस्तै बजगाईले पत्रकारिता र सरकारी सञ्चारसँगै समुदाय स्तरको विकास र अनुसन्धानमा पनि सक्रिय रहँदै आएका छन्। उनले ‘बिल्ड नेपाल’ संस्थासँग सहकार्य गर्दै बागलुङको तमानखोला गाउँपालिकाको ‘भिलेज प्रोफाइल’ तयार पार्ने परियोजनामा सहभागी भएर सहभागीमूलक सर्वेक्षण, फोकस ग्रुप छलफल र स्थानीय नेतृत्वसँग समन्वय गरेका थिए।
त्यसै गरी, ‘रमाइलो शिक्षा’ मार्फत सिन्धुपाल्चोकको माझी गाउँमा प्राविधिक शिक्षाको लागि पहल गरेका थिए। यस्तै उनले बालबालिका र ज्येष्ठ नागरिकका लागि डिजिटल साक्षरता कार्यक्रम समन्वय गरी प्रविधि पहुँच विस्तारमा योगदान पुर्याएका छन्।


