काठमाडौँ: भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थानहद फुकुवा गरेको छ। सोमबार बसेको आयोगको बैठकले ओलीलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउनेगरी लगाएको स्थानहद फुकुवा गरेको हो।
आयोगले असोज १२ गतेको निर्णयबाट ओलीसहित पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृह सचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, तत्कालिन आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई काठमाडौं उपत्यका छाड्न रोक लगाएको थियो।
आयोगले यसअघि नै ओलीबाहेक अन्य सबैको स्थान हद फुकाइसकेको छ।
आयोगले आइतबार पूर्वप्रधानमन्त्री ओलीनिवास गुण्डुमा पुगेर भदौ २३ र २४ को घटनाबारे बयान लिएको थियो। ती घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले ओलीले गरेका कामकारबाही सम्बन्धमा आयोगबाट सोधपुछलगायत बुझ्ने कार्य सम्पन्न भैसकेकाले उनको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य समाप्त भएको आयोगको भनाइ छ।



