काठमाडौँ- नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउन गरिएको करोडौं ठगी प्रकरणमा चार दिनदेखि अभियुक्तहरुको तर्फबाट प्रतिरक्षा बहस भइरहेको छ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा अधिकांश अभियुक्तहरूले इन्कारी बयान दिएकाले सोहीअनुसार प्रतिरक्षा गरिरहेका छन्। आइतबार नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र अर्का अभियुक्त सन्दीप रायमाझीका वकिलहरूले प्रतिरक्षा गरेका हुन्।
अधिवक्ता राम घिमिरेले पाण्डेको बचाउ बहस गरे। भुटानी शरणार्थीको दीर्घकालीन समस्या समाधान गर्न तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनमाथि नै उनको प्रश्न थियो।
सन्दीपका वकिलहरूले भने बिचौलियाको भूमिकामा रहेका अभियुक्त सानु भण्डारी र सन्दीपको कम्पनीमा सँगै काम गरेको लेनदेन भएको जिकिर गरेका छन्। सन्दीपका तर्फबाट बाबुराम दाहालले बहस गरेका थिए। टोपबहादुर रायमाझीका छोरा हुँदैमा मुद्दा चलाउन नपाइने उनको जिकिर थियो।
सन्दीपका तर्फबाट अधिवक्ता दाहालसहित, अवतार न्यौपाने, प्रवीण सुवेदीलगायत बहस गरेका थिए। उनीहरूले बावुको कसुरमा छोरालाई मुद्दा चलाउन नपाइने जिकिर गरे।
हालसम्म अभियुक्तहरू केशव दुलाल, सानु भण्डारी, सागर राई, टंक गुरुङ, इन्द्रजित राई, सन्देश शर्मा, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी र टेकनारायण पाण्डेको तर्फबाट वकिलले प्रतिरक्षा गरिसकेका छन्।
पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, उनका तत्कालीन निजी सचिव नरेन्द्र केसी, पूर्वसभासद् आङटावा शेर्पा, गोविन्द चौधरी, रामशरण केसी, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, शरणार्थी नेता टेकनाथ रिजाल, ललितपुरमा हरिभक्त महर्जन र लक्ष्मी महर्जनको तर्फबाट बहस हुन बाँकी छ।
बहसका लागि ६ दिन तोकिएकोमा अब दुई दिन मात्र बाँकी छ। त्यसपछि उनीहरुलाई थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा राख्ने भन्ने आदेश न्यायाधीश न्यौपानेले दिनेछन्।


