काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहले आह्वान गरेको विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डमा जारी छ। विशेष महाधिवेशनमा काठमाडौँका विभिन्न फरक फरक स्थानबाट जुलुस प्रदर्शनसहित नेता कार्यकर्ताहरू सहभागी भएका छन्।
महाधिवेशनका लागि सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निमन्त्रणा गरिएको थियो। तर देउवासहित उनको समूहका अधिकांशले महाधिवेशन बहिष्कार गरेका छन्। सभापति र कार्यवाहक उपस्थित नभएपछि महामन्त्रीद्वय थापा र शर्माले दीप प्रज्वलनसहित विरुवामा पानी हालेर विशेष महाधिवेशनको उद्घाटन गरेका छन्।
गत असोज २९ गते कांग्रेसका ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको मागसहित हस्ताक्ष बुझाएका थिए। विधानत: ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको मागसहित निवेदन दिएको तीन महिनाभित्र अनिवार्य विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ। तर विशेष महाधिवेशनप्रति कांग्रेस संस्थापन पक्षले असहमति जनाउँदै आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने तयारी गरेको थियो।
संस्थापन पक्षले विधान मिचेपछि महामन्त्रीद्वय थापा र शर्माको अगुवाईमा विशेष महाधिवेशन आह्वान भएको हो। पार्टीभित्र चर्को आन्तरिक विवादकाबीच महामन्त्रीद्वय समूहले आयोजना गरेको महाधिवेशनमा संस्थापन पक्षका नेताहरू पनि देखिएका छन्। कार्यक्रममा सभापति देउवा निकट भनेर चिनिने गोपालमान श्रेष्ठ पुगेका छन्। उनले २०५९ सालमा आन्तरिक द्वन्द्वका कारण देउवाले कांग्रेस फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गर्दा साथ दिएका थिए। त्यसयता उनी देउवानिकट मानिन्थे।
यस्तै देउवा पक्षका विनोद चौधरी, सुनिल शर्मा, पुष्पा भुसाल, उदयशमशेर राणा, डिला संग्रौला, चन्द्र भण्डारीलगायतका नेता देखिएका छन्।
यसैगरी अर्जुन जोशी, राजन केसी, देवेन्द्रराज कँडेल, अब्जुल सतार, योगेन्द्र चौधरी, भरत शाह, नानु बास्तोलालगायतका नेता पनि उपस्थित भएका छन्।
महाधिवेशनमा विभिन्न छ स्थानबाट जुलुस प्रदर्शनसहित कार्यकर्ताहरू सहभागी भएका छन्। काठमाडौंको सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस, कमलपोखर र ललितपुरको कुपण्डोलबाट जुलुस भृकुटीमण्डपतर्फ आएको हो।


