काठमाडौँ: नेपाली कांग्रेसका नेता नरहरि आचार्यले सभापति शेरबहादुर देउवालाई नेतृत्व सुम्पिन सुझाव दिएका छन्। आइतबारदेखि काठमाडौँमा सुरु भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा उनले देउवाका लागि नेतृत्व सुम्पिने यो अवसर भएको उनले बताए।
केन्द्रीय कार्यसमिति विशेष महाधिवेशन बोलाउन तयार नभएको अवस्थामा ५० प्रतिशतभन्दा बढी विशेष महाधिवेशन प्रतिनिधिले निर्णय गरेमा त्यो पूर्ण वैधानिक हुने उनको भनाइ छ। ५० प्रतिशतभन्दा कमको उपस्थिति भएमा त्यो अधिवेशन नभएर भेलाका रूपमा परिणत हुने र यही कार्यविधिभित्र रहेर विशेष अधिवेशन हुने उनले बताए।
उनले भने, ‘सभापति देउवा अब पार्टीको अभिभावकमा रहेर नयाँ सभापति वा नेतृत्वलाई जिम्मेवारी सुम्पन यो अवसर पनि हो। आशा छ, सभापति देउवाले निष्पक्ष रूपमा यो अवसरको सदुपयोग गर्नु हुनेछ।’
देउवाको चार वर्षे दोस्रो कार्यकाल पुस मसान्तमा सकिँदैछ। कांग्रेसको विधानअनुसार दुईपटकसम्म सभापति बन्न पाउने व्यवस्था रहेको छ। अब देउवाले सभापतिका लागि प्रतिस्पर्धा गर्न पाउने छैनन्।
आचार्यले पार्टी विधान अनुसार सभापतिदेखि कार्यसमितिको चार वर्षे पदावधि पुस मसान्तमा सकिने स्मरण गराउँदै देउवालाई अभिभावकको भूमिका बस्न सुझाव दिए।


