काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ३४ वर्षमा पटक–पटक सरकार बनाए पनि नागरिकलाई सन्तुष्टि दिन नसकेको बताएका छन्। काठमाडौँमा जारी विशेष महाधिवेशनमा रूपान्तरणका लागि कुरा आए पनि दलले तिनलाई कार्यान्वयन नगरेको बताए।
उनले संसद्का दुई ठूला दल मिलेर सरकार बनाउँदा पनि नागरिकमा आशा र विश्वास जगाउन दलहरू सफल नभएको उनको भनाइ छ। नागरिकमा असन्तुष्टि रहेको र त्यो विद्रोहमा रूपान्तरण भएको उनले बताए। उनले ३४ वर्षमा ३० वाट सरकार बनाउँदा प्रधानमन्त्री बन्नेहरू सन्तुष्ट भए पनि नागरिकलाई सन्तुष्ट बनाउन नसकेको तर्क राखे।
‘रुपान्तरणका कुरा आए पनि ती कार्यान्वयन गरेनौँ। देश र हामी ठीकठाक चलिरहेका छौँ भन्ने लाग्यो। लोकतन्त्र राजनीतिक नेतृत्वलाई के लाग्छ भन्ने हैन । नागरिकलाई के लाग्छ भन्ने हो,’ उनले भने, ‘३४ वर्षमा ३० सरकार वटा बनाउँदा प्रधानमन्त्री भएकालाई सन्तुष्टि लाग्यो होला, नागरिकलाई लागेन। प्रशासनिक कार्यालयमा सेवा लिन गएको सेवाग्राही यो कोठाबाट त्यो कोठा हुँदै त्यसपछि भोलिभन्दा सीडीओलाई सञ्चो लाग्यो होला। सेवाग्राहीलाई लागेन। गृहमन्त्रीलाई सञ्चो लाग्यो होला तर सेवाग्राहीलाई लागेन। खेतीको बेलामा मल कुरेर बसिरहेको किसान कृषिमन्त्रीको अनुहार हेरेर खेतमा खेती हुन्छ भनेर मान्दिन तयार भएन। यस्ता कयौँ बुँदा छन्। जसलाई हामी बन्दसत्रमा विस्तृतमा डकुमेन्टमा राख्छौँ।’
उनले अहिलेको परिस्थितिलाई सामना गर्न, नयाँ परिस्थिति निर्माण गर्न नयाँ सोच बनाउन आवश्यक रहेको बताए। पुरानै आनीबानी राखेर नयाँ भविष्य बनाउन नसकिने भएकाले कांग्रेससँगै देश बदल्ने सोचका साथ विशेष महाधिवेशन आह्वान गरिएको जानकारी दिए।


