काठमाडौँ: महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसको विशेष महाधिवेशनमा राजनीतिक प्रस्ताव पेस गरेका छन्। प्रतिवेदनमा उनले जेनजी आन्दोलन सरकारमा रहेका राजनीतिक दलका कमीकमजोरीका कारण सिर्जित विद्रोह भएको बताउँदै संकल्प पेस गरेका छन्।
भदौ २३ को दमन तथा २४ को विध्वंशका क्रममा भएका घटना र गम्भीर मानवअधिकार उल्लंघन, हिंसाजन्य ज्यादतीका घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी न्याय निरुपण गर्नुपर्ने तथा दोषीलाई कारबाही गर्नुपर्ने कुरामा कांग्रेस कटिबद्ध रहेको उनले बताएका छन्।
विगतमा सरकार वा प्रतिपक्षमा रहँदा जानी-नजानी पार्टी र नेतृत्वबाट भएका गल्ती र अति सत्ताकेन्द्रित सहकार्यका कारण मुलुकलाई सकारात्मक दिशा प्रदान गर्ने क्रममा नेपाली कांग्रेसले लिन नसकेको पहलकदमी र निर्णयका कारण सिर्जना भएका राजनीतिक संकटप्रति आत्मसमीक्षा तथा आत्मालोचना गर्दै उनले क्षमायाचना गरेका छन्।
उनले भनेका छन्, ‘तिनै कमजोरी र त्रुटिबाट पाठ सिकेर अबउप्रान्त राष्ट्रिय हित एवं लोकतान्त्रिक मूल्य- मान्यताप्रति अविचलित रहने प्रतिबद्धता व्यक्त गर्दै यो दोस्रो विशेष महाधिवेशन नेपाली कांग्रेस पार्टी जनताको भावनाअनुसार निष्ठा र सेवाको राजनीतिमा समर्पित रहने दृढ संकल्प गर्दछ।’
