काठमाडौँ: सरकारले म्यानमारलाई ३ लाख ५० हजार अमेरिकी डलर (आजको मूल्यअनुसार ५ करोड रुपैयाँ) सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०२५ मार्चमा गएको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगैडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।
यस्तै अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकासकेन्द्र (ईसीमोड) को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम २ लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिने निर्णय पनि सरकारले गरेको छ।
वित्तिय क्षेत्रविकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ तथा मानव बेचविखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने निर्णय समेत सरकारले गरेको छ।
यसैगरी गोरखापत्र संस्थानको अध्यक्ष पदमा अखण्ड भण्डारी (गोविन्द प्रसाद भण्डारी)लाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ। भक्तपुरका भण्डारीको नाम गत पुस २१ गतेको मन्त्रिपरिषद् बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोरखापत्र संस्थानको अध्यक्षमाका लागि सिफारिस गरेका थिए। सोही दिन सरकारले उनलाई नियुक्त गरिसकेको थियो। तर पछि विरोध भएपछि प्रधानमन्त्रीले हस्तक्षेप गरेर मुख्यसचिव सुमनराज अर्याललाई तत्काल उक्त निर्णय प्रमाणीकरण नगर्न निर्देशन दिएको बताइएको छ।
तर एक सातापछि उनलाई संस्थानमा नियुक्त गर्ने निर्णय भएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट मानिने भण्डारी यसअघि अन्नपूर्ण दैनिकको सम्पादक थिए।
यसैगरी सरकारले २०८२ माघ ४ गते बिहान ११ बजे संघीय संसद् सचिवालय सिंहदरबारमा संघीय संसद्को राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।


