काठमाडौँ: आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन लम्बिएको छ। पुस २७ र २८ गतेका लागि तय भएको महाधिवेशन २९ गतेसम्मका लागि लम्बिएको हो।
दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथि बन्द सत्रमा छलफल चलिरहेको छ। प्रतिवेदनबारे निष्कर्षमा पुग्न नसकेपछि महाधिवेशन लम्बिएको विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य-सचिव माधवप्रसाद चम्लागाईंले बताए।
मंगलबार नै नेतृत्व चयन हुने उनले जानकारी दिए।
सोमबार बन्द सत्रबाट कांग्रेसको विशेष महाधिवेशन कार्यविधि २०८२ पारित भएको छ। कार्यविधिमा कांग्रेसको १४औँ महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमिति विघटन गर्नेदेखि नयाँ नेतृत्व चयनसम्मको व्यवस्था गरिएको छ।
सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि विशेष महाधिवेशनको अध्यक्षता ज्येष्ठ सदस्य ओमकारप्रसाद श्रेष्ठले गरेका थिए।
विशेष महाधिवेशन नेतृत्व बदल्ने दिशामा अघि बढेपछि सभापति शेरबहादुर देउवाले आफ्नो समूहका नेताहरूलाई बोलाएर महाराजगञ्जमा छलफल गरेका छन्। देउवासँगको छलफलपछि अहिले शेखर कोइराला आफूनिकट नेताहरूसँग छलफलमा छन्।
आजै सभापति देउवाले गगन–विश्वप्रकाशससँग छलफल गर्ने तयारी गरेका छ्न।
