काठमाडौँ: नेपाली कांग्रेसको विवाद समाधानका लागि मंगलबार दिउँसो २ बजेदेखि त्रिपक्षीय बैठक फेरि सुरु हुँदैछ। बिहान मात्रै विशेष महाधिवेशन पक्ष, सभापति शेरबहादुर देउवा पक्ष र नेता शेखर कोइराला पक्षबिच त्रिपक्षीय वार्ता भएको थियो। वार्ता समस्या समाधान उन्मुख भएपछि दिउँसो २ बजेदेखि फेरि बस्नेगरी टुंगिएको थियो।
वार्तामा महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज, सभापति देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाण र कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी भएका थिए।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश समूहले आइतबारदेखि विशेष महाधिवेशन सुरु गरेर एकदिन लम्बाइ मंगलबारसम्म महाधिवेशन जारी राखेको छ भने अर्को पक्ष यसलाई स्वीकार्न तयार छैन। तर सहमतिको प्रयास भैरहेको छ।
सहमतिका लागि एकातर्फ निरन्तर वार्ता चलिरहँदा अर्कोतर्फ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।
विशेष केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ। विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिको कार्यालय, काठमाडौँमा बसेको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गरी सार्वजनिक गरेको हो।
निर्वाचन समितिका संयोजक विरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा सार्वजनिक गरिएको सूचनाअनुसार मंगलबार बिहान १२ः३० बजे उम्मेदवारको नेपाली वर्णानुक्रमअनुसार (देवनागरिक लिपिमा) प्रथम नामावली प्रकाशन गरिनेछ।
उम्मेदवारमाथि दाबी–विरोध दर्ता गर्ने समय दिउँसो १२ः३० बजेदेखि १ः०० बजेसम्म तोकिएको छ। दाबी–विरोधमाथिको छानबिन सोही दिन १ः०० बजेदेखि १ः३० बजेसम्म हुनेछ। त्यसपछि १ः३० बजेदेखि २ः३० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता फिर्ता लिने समय तोकिएको छ।
अपराह्न २ः४५ बजे प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ। मतदान आजै राति ९ बजेदेखि बुधबार बिहान १ बजेसम्म तोकिएको छ।

