काठमाडौँ: नेपाली कांग्रेसले विशेष केन्द्रीय महाधिवेशनमार्फत हुने केन्द्रीय कार्यसमिति निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता शुल्क तोकेको छ। केन्द्रीय निर्वाचन समितिले २०८२ का लागि जारी गरेको सूचनाअनुसार विभिन्न पदका लागि शुल्क निर्धारण गरिएको हो।
निर्धारित शुल्कअनुसार सभापति पदका उम्मेदवारले ३० हजार रुपैयाँ बुझाउनुपर्नेछ। त्यस्तै, केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ, सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ तथा केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि १० हजार रुपैयाँ मनोनयन दर्ता शुल्क तोकिएको छ।
नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन निर्वाचन निर्देशिका, २०८२ को अनुसूची ७ बमोजिम शुल्क निर्धारण गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
केही समयमै कांग्रेस विवाद समाधानका लागि त्रिपक्षीय वार्ता हुँदैछ। मंगलबार बिहान मात्रै विशेष महाधिवेशन पक्ष, सभापति शेरबहादुर देउवा पक्ष र नेता शेखर कोइराला पक्षबिच त्रिपक्षीय वार्ता भएकोमा दिउँसो २ बजेपछि फेरि छलफलमा बस्नेगरी वार्ता टुंगिएको थियो।
एकातर्फ सहमतिका लागि निरन्तर वार्ता जारी रहे पनि अर्कोतर्फ महाधिवेशन प्रतिनिधिहरूको चर्को दबाब र नाराबाजीबिच निर्वाचन तालिका सार्वजनिक भैसकेको छ। निर्वाचन तालिकाअनुसार मतदानको समय मंगलबार राति ९ बजेदेखि बुधबार बिहान १ बजेसम्म तोकिएको छ।


