काठमाडौँ: नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षधरबिच बुधबार भएको वार्ता पनि निष्कर्षविहीन टुंगिएको छ। सभापति शेरबहादुर देउवासँग महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माबिच भएको छलफलमा सहमति जुट्न नसकेको हो।
मंगलबार बिहान देउवा निवास महाराजगञ्जमा करिब १ घण्टा सभापति र महामन्त्रीहरूबिच छलफल भएको थियो। तर सहमति नजुटेपछि महामन्त्रीद्वय वार्तास्थलबाट बाहिरिएका छन्। बैठकमा महामन्त्रीद्वयले देउवालाई निष्क्रिय हुन आग्रह गर्दै सम्मानको वातावरण बनाउने प्रस्ताव गरेका थिए।
सभापति देउवाले अब आफू सभापति नहुने बताउँदै पार्टी नफुटाउन आग्रह गरेका थिए। केन्द्रीय समितिको निर्णअनुसार आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची आफ्नो हस्ताक्षरमा गैसकेको तथा आयोगलाई समस्या नहुने भएमा जुनसुकै नेतालाई प्रत्यक्ष उम्मेदवारहरूको सूचीमा हस्ताक्षरका लागि अधिकार दिने प्रस्ताव देउवाले राखेका थिए। देउवाले वैशाखमा हुने नियमित निर्वाचनबाट नयाँ नेतृत्व आउने भएकाले अहिले पार्टी विभाजनतर्फ नलान अनुरोध गरेकोमा महामन्त्रीद्वयले तत्काल जिम्मेवारी छाड्न माग गरेपछि सहमति जुट्न नसकेको कांग्रेसका प्रवक्ता प्रकाशरण महतले बताए।
संस्थापन पक्षसँग सहमति नजुटेपछि विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने पक्का भएको छ। पदाधिकारीका लागि मनोनयन दर्ता भैसकेको छ। दिउँसो १ बजे नामवली सार्वजनिक गरिने निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिए।
पदाधिकारीहरूका लागि निर्वाचन हुने भए पनि सभापतिमा महामन्त्री थापा निर्विकल्प देखिएका छन्। निर्वाचन स्रोतका अनुसार सभापतिमा अहिलेसम्म थापाको मात्रै मनोनयन दर्ता भएको छ। अन्य उम्मेदवारी नपरेमा उनी सर्वसम्मत सभापति निर्वाचित हुनेछन्।


