काठमाडौँ: नेपाली कांग्रेसको विभाजन रोक्ने अन्तिम विकल्पका रूपमा महामन्त्री विश्वप्रकाश शर्माले संस्थान पक्षलाई ८ बुँदे प्रस्ताव पठाएका छन्। एकातर्फ महामन्त्रीद्वय शर्मा र गगनकुमार थापाको नेतृत्वमा आह्वान गरिएको विशेष महाधिवेशन अन्तिम चरणमा छ, अर्कोतर्फ संस्थापन पक्षले महाधिवेशनको स्वामित्व लिन अस्वीकार गर्दा कांग्रेस विभाजनको डिलमा छ।
मनोनयन दर्ता भएर नामवली प्रकाशनको चरणमा रहेको बेला महामन्त्री शर्माले अन्तिम विकल्पका रूपमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सहमतिका लागि नयाँ प्रस्ताव पठाएका हुन्।
यस विषयमा संस्थापन पक्षमा छलफल जारी छ।
यस्ता छन् प्रस्तावस्वरूव शर्माले पठाएका शर्तहरू:
१. सभापति शेरबहादुर देउवाले कार्यकारी जिम्मेवारीबाट अलग हुनुपर्ने।
२. विशेष महाधिवेशनको नेतृत्व र स्वामित्व पार्टीले लिनुपर्ने।
३. आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार पहिल्यै तय गरेर अघि बढ्नुपर्ने।
४. चुनावमा कुनै पनि दलसँग गठबन्धन नगर्ने।
५. टिकट वितरणका लागि सबै पक्षलाई स्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने।
६. निर्वाचन तयारीलाई केन्द्रमा राखेर पाँच सदस्यीय उच्चस्तरीय संयन्त्र बनाइनुपर्ने।
७. प्रतिनिधि सभा निर्वाचनका टिकटमा सभापति देउवाको हस्ताक्षर नहुने व्यवस्था गरिनुपर्ने।
८. विशेष महाधिवेशनमा पेश प्रतिवेदनहरूलाई कांग्रेसको संस्थागत पूँजीका रूपमा मान्यता स्वीकार्नुपर्ने।


