काठमाडौँ: नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई ५ वर्षका लागि साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको छ। बुधबार दिउँसो पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले उनीहरूलाई कारबाही गरेको हो।
कारबाहीपछि महामन्त्री शर्माले कांग्रेस र देशलाई बदल्ने प्रयास गरेर ८ बुँदामा सहमति प्रयास गरे पनि त्यो सफल हुन नसकेको बताएका छन्। उनले अन्तिम विकल्पका रूपमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने, विशेष महाधिवेशन परिमार्जनसहित पारित प्रस्तावहरु कार्यान्वयन गर्ने, सभापतिले सक्रिय भुमिका निर्वाह नगर्ने, सो क्रममा उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने, उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने, आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने, कुनैपनी दलसँग गठबन्धन नगरेर नेपाली काँग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने, नेपाली काँग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने, यी सबै कार्य समन्वय र कार्यान्वयन गराउन ५ सदस्यीय संरचना गठन गर्ने जसमा – कार्यवाहक सभापति र दुई महामन्त्रीबाहेक थप दुई नेताहरू रहने प्रस्तावित शर्त पठाएका थिए।
तर देउवा पक्ष ती बुँदामा सम्झौता नगरी केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वयसहितलाई कारबाही गरेको हो। कारबाहीपछि शर्माले, ‘सहमतिका लागि आज बिहान प्रस्तावित यी ८ बुँदामध्ये कुन बुँदा काँग्रेस र देशको अहितमा थियो र छ ?’ भनेर प्रश्न गरेका छन्।
उनले आफूहरूलाई कारबाही गरिएपछि मुस्कुराउँदै फेरि यी बुँदाहरू पढेको बताएका छन्। उनले कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र आफू दृढ भएको बताएका छन्। उनले भनेका छन्, ‘विधानअनुरूपको विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको छ, अब सही नेतृत्व दिनेछ।’
