काठमाडौँ: ‘स्थानीय तहबाटै नेपाललाई सक्षम बनाउने अभियान’ भन्ने मूल नारासहित स्थानीय उत्पादन र रैथाने परिकार प्रबर्द्धन मेला २०८२–०८३ सुरु भएको छ। काठमाडौंको बानेश्वरमा एक वर्षसम्म चल्नेछ। डिग फर नेपाल र वल्ड मार्ट युनिक सोलुसन्स (मौलिक बजार तथा मौलिक भान्छाघर) को संयुक्त प्रस्तुतिमा आयोजना हुने यो मेला चौथो जैविक विविधता दिवसको अवसर पारेर माघ १ गतेदेखि सुरु भएको छ।
मेला ५२ हप्तासम्म हरेक शनिवार तथा विशेष पर्व–अवसरमा आयोजना गरिनेछ। यसले नेपालका सातै प्रदेशका मौलिक उत्पादन, रैथाने परिकार, जैविक विविधता र सांस्कृतिक पहिचानलाई एउटै साझा मञ्चमा प्रस्तुत गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार ‘स्थानीय तहबाटै नेपाललाई सक्षम बनाउने’ अभियान पाँच एकीकृत आधार— जमिनको सदुपयोग, रैथाने उत्पादन र ब्रान्डिङ, बजार पहुँच, मौलिक खानपान प्रवर्द्धन तथा सीप र शिक्षाको समन्वय—मा आधारित छ। ‘बाँझो जमिन रहित नेपाल’ अभियानअन्तर्गत प्रयोगविहीन जमिनलाई उत्पादनमुखी बनाउँदै विद्यालय, स्थानीय तह र युवाको सहकार्यमा बाँझो जमिन रहित वडा तथा पालिका घोषणा गरिनेछ। त्यस्तै, ‘एक स्थानीय तह–कम्तीमा एक उत्पादन’ अवधारणामार्फत रैथाने उत्पादनको पहिचान, ब्रान्डिङ र मूल्यअवृद्धि गर्दै हरेक स्थानीय तहमा किसान–उत्पादनलाई बजारसम्म पुर्याउन मौलिक बजार स्थापना गरिनेछ।
ग्रामीण क्षेत्रका साना किसानबाट कच्चा पदार्थ संकलन गरी पोषणयुक्त, स्वच्छ र न्यून प्रशोधन गरिएका खाद्य सामग्री शहरी उपभोक्तासम्म पुर्याउने दीर्घकालीन प्रयासका उद्देश्यले मेला आयोजना गर्न लागिएको आयोजकको भनाइ छ। साथै, ७५३ स्थानीय तहमा क्रमशः स्थानीय रैथाने स्वाद घर (मौलिक भान्छाघर) सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ। यसले किसानलाई उचित मूल्य, स्थानीय प्रशोधन–प्याकेजिङ र रोजगारी सिर्जनामा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
मेलामा हरेक हप्ता फरक–फरक प्रदेशका रैथाने परिकार र सांस्कृतिक प्रस्तुति देख्न पाइनेछ। सातै प्रदेशका स्थानीय शेफद्वारा तयार गरिएका परिकार, कृषि तथा गैर–कृषि उत्पादनको प्रदर्शनी र प्रत्यक्ष बिक्री, पोषण र जैविक विविधतासम्बन्धी जनचेतना कार्यक्रम, उत्पादक–खरिदकर्ता–लगानीकर्ताबीच बी–टु–बी सञ्जाल, सुपथ मूल्यमा २१ परिकारको रैथाने बुफे, परम्परागत संगीत र सांस्कृतिक पोशाक प्रस्तुति
रहने बताइएको छ।
मेलाको पहिलो चरणअन्तर्गत माघ १ देखि माघ २४ गतेसम्म पाँच चरणका विशेष कार्यक्रम तय गरिएको छ।


