काठमाडौँ: नेपाली कांग्रेसका १० जना प्रभावशाली नेताहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन्।
निर्वाचन नलड्ने घोषणा गर्नेहरूमध्ये विशेष महाधिवेशनबाट निर्वाचित उपसभापति विश्वप्रकाश शर्मा पनि छन्। २०७४ र २०७९ मा झापा–१ बाट प्रत्यक्ष निर्वाचित शर्मा यसपटक उम्मेदवार नबन्ने भन्दै पार्टी संगठन र वैचारिक काममा सक्रिय भएका छन्।
यस्तै पूर्वमन्त्रीहरू हृदयराम थानी, दिलेन्द्र प्रसाद बडू र डा. नारायण खड्का पनि आगामी निर्वाचनमा नहोमिने भएका छन्।
बलबहादुर केसीले आफ्नो जिल्लाका सबै नेताहरूको उपस्थितिमा निर्वाचन नलड्ने घोषणा गरिसकेका छन् भने काभ्रेका नेता शिव हुमागाईंले पनि आफू उम्मेदवार नहुने जानकारी गराएका छन्।
यस्तै जेनजी आन्दोलनका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका बद्री पाण्डेले पनि प्रतिनिधिसभा र राष्ट्रियसभा कतैतर्फको उम्मेदवार नहुने घोषणा गरिसकेका छन्।
काठमाडौँ क्षेत्र नम्बर १० बाट लगातार तीन निर्वाचन जितेका राजेन्द्रकुमार केसीले पनि दुवै सदनका लागि उम्मेदवार नहुने घोषणा गरेका छन्।
त्यस्तै पूर्व कृषिमन्त्री तथा धादिङ कांग्रेस सभापति रामनाथ अधिकारी र दोलखाका नेता जिपछिरिङ लामा पनि नलड्ने बताएका छन्।


