काठमाडौँ: भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको ‘नागरिक सरकार’का चार मन्त्री राजीनामा दिएर संसदीय निर्वाचनमा होमिएका छन्। भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पाँचौँ पटकसम्म मन्त्रिपरिषद् विस्तार गरेर १५ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेकी थिइन्। जसमध्ये चार मन्त्री राजीनामा दिएर चुनावी दौडमा लागेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग ७ बुँदे सहमतिपश्चात् दलप्रति खुलेको भन्दै आलोचना भएपछि गत पुस २३ गते नै तीन वटा मन्त्रालय सम्हालेका कुलमान घिसिङले राजीनामा दिएका थिए। रास्वपासँग कुरा नमिलेपछि आफ्नै नेतृत्वको उज्यालो नेपाल पार्टीबाट उनी काठमाडौँ ३ बाट प्रतिनिधिसभा निर्वाचन लड्दैछन्। घिसिङले ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय सम्हालेका थिए।
यस्तै माघ ५ गते सोमबार मात्रै दुई वटा मन्त्रीले राजीनामा दिएर चुनावी तयारीमा लागिसकेका छन्। बब्लु गुप्ता युवा तथा खेलकुदमन्त्रीबाट राजीनामा दिएर सिराह १ बाट र सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएर जगदीश खरेल ललितपुर २ बाट चुनाव लड्दैछन्। दुवै जना रास्वपाबाट संसदीय उम्मेदवार बन्न लागेका हुन्।
यस्तै मंगलबार बिहान मात्रै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर महावीर पुन पनि चुनावी दौडमा लागेका छन्। उनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गर्दैछन्।
मन्त्रीहरूले राजीनामा दिएसँगै प्रधानमन्त्री सुशीला कार्कीले रिक्त मन्त्रालयहरूको जिम्मेवारी सम्हालेकी छन्। प्रधानमन्त्रीसहित रक्षा मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको उनले सम्हालेकी हुन्।
नागरिक सरकारका मन्त्रीहरू धमाधम राजीनामा नदिएर चुनावी दौडमा लागेपछि कतिपयले आलोचना समेत गरेका छन्।


