काठमाडौँ: राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ सदस्य चयनका लागि आज सातै प्रदेशमा निर्वाचन चलिरहेको छ। निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ।
रिक्त हुन लागेका १८ मध्ये एक जना कोशी प्रदेशमा खस आर्यतर्फ सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भैसकेका छन्। बाँकी १७ सदस्यका लागि निर्वाचन भइरहेको हो।
आगामी २०८२ फागुन २० गतेदेखि राष्ट्रिय सभाका १८ पद रिक्त हुने भएपछि ती पद पूर्तिका लागि निर्वाचन भएको हो।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदानका लागि सातै प्रदेशमा छुट्टाछुट्टै मतदानस्थल र केन्द्र तोकिएको छ। कोशी प्रदेशमा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसर, मधेस प्रदेशमा जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, र बागमती प्रदेशमा हेटौँडाको भुटनदेवी माध्यमिक विद्यालयमा मतदान केन्द्र निर्धारण गरिएको छ।
त्यसैगरी गण्डकी प्रदेशमा पोखरास्थित प्रदेश निर्वाचन कार्यालय परिसर, लुम्बिनी प्रदेशमा दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशमा वीरेन्द्रनगर सुर्खेतको प्रदेश निर्वाचन कार्यालय परिसर तथा सुदूरपश्चिम प्रदेशमा धनगढी कैलालीको प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान हुने व्यवस्था गरिएको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष मतदाता रहने संवैधानिक व्यवस्था छ।







