२०८३ कार्तिक १५ गते शनिवार

जेन—जी आन्दोलनमा निस्केका विदेशी कैदी भागेको भाग्यै

 |  मकर श्रेष्ठ/निमजिन
Sanket

मकर श्रेष्ठ/निमजिन

काठमाडौँ, माघ ११
genz_andolan

दक्षिण अफ्रिकी नागरिक मार्लेस बाडेनहोर्स्ट ६ किलो हिरोइनसहित साउन २०, २०७९ मा ठमेलको एक होटलबाट पक्राउ परिन्। सुटकेसको फल्स बटममा लुकाएर हिरोइन ल्याएकोमा जिल्ला अदालत काठमाडौंले उनलाई दोषी ठहर गर्दै २० वर्षको जेल सजाय र १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

मार्लेसले आफ्ना साथी विलियमले उक्त सामान पठाएको र आफूलाई सुटकेसमा लागूऔषध छ भनेर जानकारी नभएको दाबी गरे पनि प्रमाणको अभावमा अदालतले उनको तर्कलाई स्वीकार गरेन।

प्रहरीको अनुसन्धान प्रतिवेदन, प्रयोगशालाको परीक्षण र साक्षीहरूको बकपत्रलाई मुख्य आधार मानेर जिल्ला अदालतले कैद सजाय र १० लाख जरिवाना तोकेपछि उनी साउन २०, २०७९ मा केन्द्रीय कारागार सुन्धारा चलान भइन्।

तर, भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखेर जेन—जीले गरेको आन्दोलनका क्रममा भदौ २४ गते जेलबाट भागेकी उनी फरारको सूचीमा छिन्। जेन—जी आन्दालनमा भागेर फरारको सूचीमा रहेकी उनी एक्ली होइनन्। आन्दोलनका बेला साढे १३ हजार कैदी भागेकामा ९ हजार मात्र फिर्ता भएका छन्। फरार ४ हजारमा ६ सय २१ जना त विदेशी मात्रै छन्। फरार हुने विदेशीमा लागूऔषध मुद्दाका २ सय २६ जना छन्। त्यस्तै जबरजस्ती करणीका ८३ जना, सुन तस्करीमा संलग्न ३१, कर्तव्यज्यान, ज्यानसम्बन्धी कसुरका १ सय २९ विदेशी कैदीबन्दी फरार भएका छन्।

जघन्य र संगठित अपराधमा संलग्न विदेशी कैदी भाग्दा शान्तिसुरक्षामा जोखिम त बढेकै छ, सँगसँगै उनीहरूले तिर्नुपर्ने धरौटी र क्षतिपूर्तिबापतको रकम पनि राज्यले गुमाएको छ। ‘आन्दोलनले कैदी मात्रै भागेनन्, सुन तस्करीलगायतका मुद्दाबाट राज्यले पाउने करोडौँ रकम पनि गुमेको छ,’ एक कारागार प्रशासकले भने।

३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बिगो कायम गरिएको सुन तस्करीको मुद्दामा पुर्पक्षका लागि काठमाडौंको केन्द्रीय कारागारमा थुनामा रहेका ७ चिनियाँ, ५ भारतीय र १ जना बेल्जियमका नागरिक फरार छन्।

६० केजी सुन तस्करी गरेको आरोप लागेका चिनियाँ नागरिक कुङ्गा टासी शेर्पा भनिने गेङ्गा शाशीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पेस्तोल र ६ राउन्ड गोलीसहित पक्राउ गरेको थियो। उनीसँग नेपाली नागरिकता र सोही नागरिकता प्रयोग गरी निकालेको सवारी अनुमतिपत्र फेला परेको थियो।

त्रिभुवन विमानस्थल हुँदै मोटरसाइकलको ब्रेक सुमा लुकाएर ल्याएको ६० किलो ७ सय ७८ ग्राम सुन तस्करी भएको भन्दै २९ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

जसमा तिब्बती मुलकका बेल्जियम नागरिक निमा तामाङ भनिने दावा छिरिङ पनि छन्। उनले काभ्रे नमोबुद्ध नगरपालिका–११ का पेमा तामाङको छोरा बनेर नागरिकता लिएको पाइएको थियो। उनी ठमेलको होटल भियनाबाट असार २६, २०८१ मा पक्राउ परेका थिए। सुन तस्करीका आरोपमा अदालतको आदेशले थुनामा रहेका सबैजसो बन्दी फरार रहेको केन्द्रीय कारागारले जनाएको छ। ‘सुन काण्डमा थुनामा रहेका विदेशी सबै बन्दी फरार सूचीमा छन्,’ कार्यालयका सूचना अधिकारी बैकुण्ठ अधिकारीले भने।

फरार भएका २५ प्रतिशत मात्रै फिर्ता
कारागार विभागका अनुसार आन्दोलनका क्रममा नेपालका २८ वटा कारागारबाट १३ हजार ५ सय ८५ कैदीबन्दी भागेका थिए। फरार भएका मध्ये ९ हजार १ सय ६७ कैदीबन्दी मात्रै फिर्ता भएका छन्।

कारागार विभागका अनुसार फरार भएकामा १२ हजार ७ सय ६१ स्वदेशी र ८ सय २४ जना विदेशी थिए। सरकारले फरार कैदीलाई फिर्ता आउन आह्वान पनि गरेको छ। अहिलेसम्म फरार भएका मध्ये ७०.२० प्रतिशत अर्थात् ८ हजार ९ सय ५९ स्वदेशी कैदीबन्दी फिर्ता भएका छन्।

फरार भएका ८ सय २४ विदेशी कैदीमध्ये २४.६३ प्रतिशत अर्थात् २ सय ३ मात्रै फिर्ता भएका छन्। जसअनुसार ७५ प्रतिशत विदेशी कैदी फरार छन्। स्वदेशी फरार कैदीलाई प्रहरी प्रशासनले पक्राउ गरिरहे पनि विदेशीलाई भने पक्राउ गर्न सकेको छैन। फरार भएका सबै विदेशी कैदी सीमा नाका कटेर भागिसकेको अनुमान प्रहरीको छ। एक जना प्रहरी अधिकारीले भने, ‘नेपालमै भूमिमा भए त पक्राउ पर्ने नै छन्, तर विदेशीले त डाँडा काटिसके।’

के गर्दै छ सरकार?
कारागार विभागका निर्देशक चोमेन्द्र न्यौपानेले फरार कैदीबन्दीलाई हवाई तथा स्थलमार्ग हुँदै अन्यत्र जान नदिन विशेष निगरानी बढाएको बताए। छुट्टै कार्यदल नै बनाएर उनीहरूको खोजी भइरहेको उनी बताउँछन्। ‘उनीहरूको नाम नामेसी विवरण विमानस्थल र नाकामा पठाएका छौँ,’ उनले भने, ‘केही पक्राउ पनि परेका छन्।’

भागेका कैदीबन्दीका बारेमा अन्तर्राष्ट्रिय निकायलाई पनि जानकारी गराएको कारागार विभागका निर्देशक चोमेन्द्रले बताए। फरार विदेशी कैदीको जानकारी गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत नेपालमा रहेको सम्बन्धित देशको दूतावासमा जानकारी गराइसकेको छ। ‘नेपालमा उनीहरूलाई कालोसूचीमा राखेका छौँ,’ उनले भने।

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले फरार कैदीको खोजी गर्न कारागार विभाग र प्रहरी मिलेर संयुक्त रूपमा काम भइसकेको बताउँछन्। इन्टरपोलमा जानकारी गराउने प्रक्रिया पनि अघि बढाएको उनले बताए। ‘नेपालमै लुकेर बसेको हुन सक्ने भएकोले उनीहरूलाई निगरानी पनि बढाएका छौँ,’ उनले भने।

तर, सरकारले भागेका कैदी पक्रन जुन गरिरहेको प्रयास अपुग भएको विज्ञहरू बताउँछन्। पूर्वएआईजी किरण बज्राचार्यले जेलबाट भागेका कैदीलाई अन्तर्राष्ट्रिय रूपमा खोजीमा रहेको सूचीमा समावेश गरी पक्राउ गर्न इन्टरपोलमार्फत पहल तीव्र पार्नु पर्ने बताइन्। ‘नेपालमा कालोसूचीमा मात्रै राखेर हुँदैन,’ उनले भनिन्, ‘जुन देशका नागरिक हुन्, त्यही देशलाई जानकारी गराउन ढिलाइ गर्नु हुँदैन।’

जेलबाट भागेका अन्तर्राष्ट्रिय कैदीहरू पक्राउ नपर्नु झनै गम्भीर विषय हो। उनी यसलाई राज्यले चासो दिनुपर्नेमा जोड दिन्छिन्। फरार कैदीबारे जानकारी दिनेलाई पुरस्कार घोषणा पनि गर्न सकिने उनले उपाय सुनाइन्।

इन्टरपोललाई जानकारी गराए पनि फरार विदेशी नागरिक पक्राउ गरेर नेपाल ल्याउन कठिन भएको सुरक्षाविज्ञहरू बताउँछन्। इन्टरपोलले मागेका नेपाली नागरिक पक्राउ गरेर पठाउन त हम्मेहम्मे परेको बताउँदै उनी नेपालले मागेकै भरमा कुनै पनि देशले आफ्नो नागरिक पक्राउ गरेर पठाउने अवस्था आफूले नदेखेको इन्टरपोलमै कार्यरत एक प्रहरी (नाम उल्लेख गर्न नचाहने) ले बताए।

उनले जेलबाट फरार हुनेमा भारतीय धेरै रहेको बताउँदै भने, ‘हामीले अनुरोध गर्दा होस् वा इन्टरपोलमार्फत, जे गरे पनि भारतले आफ्ना नागरिक पक्राउ गरेर पठाउँदैन। अरू देशको त के कुरा गर्नु।’

(यो लेख Nimjin बाट साभार गरिएको हो।)

प्रकाशित: २०८२ माघ ११ गते आईतबार ०५:०४
प्रतिक्रिया

थप समाचार

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।

कुसुन्तीमा ५ करोडमा लिफ्टसहितको आकाशे पुल बन्दै, कहिलेदेखि सञ्चालनमा आउँछ?

काठमाडौँ: ललितपुर महानगरपालिका–१३ कुसुन्ती हाइटस्थित चक्रपथमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ । ललितपुर महानगरपालिकाकी प्रेस संयोजक रमा लुईटेलले...

दुई महिनामा निजी क्षेत्रमा कर्जा ९३ अर्ब ५२ करोड मात्रै, कृषि र घरजग्गामा घट्यो

भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ८३ खर्ब ४९ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा निक्षेप ०.९ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निक्षेप वृद्धि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना