८०को दशकमा फूलनदेवीको नाम भारतीय चर्चित फिल्म ‘शोले’ का खलनायक गब्बर सिंहभन्दा पनि बढी खतरनाक भइसकेको थियो। केही महिलाहरूले फूलनदेवीको धम्की र उदाहरण दिएको अक्सर सुनिन्थ्यो।
भनिन्थ्यो कि फूलनदेवीको निशाना निकै अचुक थियो र त्योभन्दा पनि बढी कठोर थियो उनको मन। जानकारहरूका अनुसार परिस्थितिहरूले नै फूलनदेवीलाई यति कठोर बनाएको थियो। जब उनले बहमईमा एकै लाइनमा उभ्याएर २२ जना ठाकुरहरूको हत्या गरिन्, तब उनलाई अलिकति पनि पछुतो भएन।
यस घटनाले फूलनदेवीको नाम बच्चा-बच्चाको जिब्रोमा पुर्याइदियो। फूलनदेवीको भनाइ थियो कि उनले ती हत्याहरू बदला लिनका लागि गरेकी थिइन्। ठाकुरहरूले आफूमाथि सामूहिक बलात्कार गरेको र त्यसैको बदला लिन ती हत्याहरू गरेको उनको भनाइ थियो।

फूलनदेवीको कथा भारतीय समाजको सबैभन्दा कठोर यथार्थमध्ये एक हो—जहाँ जात, लिङ्ग र गरिबी एकैसाथ कसैको जीवनमाथि खनिन्छन्।
उत्तर प्रदेशको जालौन जिल्लाको एउटा सानो गाउँ घूरामा सन् १९६३ मा जन्मिएकी फूलन मल्लाह समुदायकी थिइन्। बाल्यकालदेखि नै अभाव, अन्याय र अपमान उनका स्थायी साथी बने। स्वभावले निर्भीक र प्रतिरोधी फूलन सानै उमेरमा शक्तिशालीहरूसँग ठोक्किन डराउँदिनथिन्। यही हठीपनलाई ‘दण्ड’ दिँदै परिवारले उनलाई कम उमेरमै आफूभन्दा धेरै जेठो पुरुषसँग विवाह गरिदियो। त्यसपछि उनको जीवन झन् अन्धकार बनायो।
विवाहपछि उनले हिंसा, बलात्कार र स्वास्थ्य बिग्रने पीडा भोग्नुपर्यो। माइती फर्कँदा पनि सहयोग पाइनन्, बरु फेरि त्यही नरकमा फर्काइन्। श्रीमान्ले दोस्रो विवाह गरिसकेको थाहा पाएपछि र निरन्तर यातना सहन नसकी फूलनले घर छोडिन्। यही बिन्दुबाट उनको जीवनले भयावह मोड लियो।
चम्बल क्षेत्रमा सक्रिय डाँकु समूहसँग जोडिएपछि पनि उनको दुःख टुंगिएन। ठाकुर समूहले उनलाई अपहरण गरी हप्तौँसम्म अमानवीय यातना दियो। सन् १९८१ मा बेहमईमा भएको घटनाले भारतलाई हल्लाइदियो—जहाँ फूलनले आफ्नामाथि अत्याचार गर्ने ठाकुरहरूलाई सार्वजनिक रूपमा गोली हानिन्। यही घटनाले उनलाई ‘ब्यान्डिट क्विन’ बनायो।
फूलनदेवी सन् १९८० को दशकको सुरुवातमा चम्बलका खोँचहरूमा सबैभन्दा खतरनाक डाँकु मानिन्थिन्। उनको जीवनमा धेरै फिल्महरू पनि बने। प्रहरीबट उनलाई खतरा थियो। विशेषगरी ठाकुरहरूसँग उनको दुस्मनी थियो, त्यसैले उनलाई सधैं आफ्नो ज्यानको खतरा महसुस हुन्थ्यो। चम्बलका खोँचहरूमा प्रहरी र ठाकुरहरूबाट बच्दा-बच्दै सायद उनी थाकिसकेकी थिइन्, त्यसैले उनी हतियार बिसाउने (आत्मसमर्पण गर्ने) निष्कर्षमा पुगिन्। तर आत्मसमर्पणको बाटो पनि त्यति सहज थिएन।
फूलनदेवीलाई शंका थियो कि उत्तर प्रदेश प्रहरीले उनलाई आत्मसमर्पण पछि कुनै न कुनै तरिकाले मारिदिनेछ, त्यसैले उनले मध्य प्रदेश सरकारसँग आत्मसमर्पणका लागि सर्तसहितको सम्झौता गरिन्। मध्य प्रदेशका तत्कालीन मुख्यमन्त्री अर्जुन सिंहको अगाडि फूलनदेवीले एउटा समारोहमा हतियार बिसाइन्। त्यसबेला उनको एक झलक पाउन हजारौं मानिसको भीड जम्मा भएको थियो। त्यस समयमा फूलनदेवीको लोकप्रियता कुनै फिल्मी कलाकारको भन्दा कम थिएन।
मलाई याद छ कि फूलनदेवीले निधारमा रातो रङ्गको कपडा बाँधेकी थिइन् र हातमा बन्दुक लिएर जब उनी मञ्चतिर बढिन्, तब सबैको सास रोकिए झैं भएको थियो— ‘कतै फूलनले यहाँ पनि गोली त चलाउँदिनन्?’ अनि केही क्षणमै फूलनदेवीले आफ्नो बन्दुक निधारमा छोएर अर्जुन सिंहको गोडामा राखिदिइन्। यही घडीमा फूलनदेवीले डाँकुको जीवनलाई बिदा गरिन्।
फूलन स्वभावले निकै चिडचिडे थिइन् र कसैसँग कुरा गर्दिनथिन्, गरिहाले पनि उनको मुखबाट कुनै न कुनै गाली निस्कन्थ्यो। फूलनदेवी विशेषगरी पत्रकारहरूसँग कुरा गर्न हिचकिचाउँथिन्।
फूलनदेवीको आत्मसमर्पण एउटा ऐतिहासिक घटना थियो किनभने उनीपछि चम्बलका खोँचहरूमा सक्रिय डाँकुहरूको आतंक बिस्तारै समाप्त हुँदै गयो। चम्बलका क्षेत्रमा सक्रिय डाँकुहरू धेरै राज्यका सरकारहरूका लागि ठूलो टाउको दुखाइ बनेका थिए र केही इलाकाहरूमा त उनीहरूको आदेश टार्ने हिम्मत कसैले गर्दैनथे।
फूलनदेवीले १९८३ मा आत्मसमर्पण गरिन् र १९९४ सम्म जेलमा रहिन्। यस अवधिमा उनलाई कहिल्यै पनि उत्तर प्रदेशको जेलमा पठाइएन।
सन् १९९४ मा जेलबाट रिहा भइन्। कैदपछि उनका अधिकांश मुद्दा खारेज भए र नयाँ जीवन सुरु गरिन्। उम्मेद सिंहसँग विवाह गरेपछि उनी राजनीतिमा सक्रिय भइन्। उनी १९९६ को चुनावमा होमिइन्। सांसद निर्वाचित भइन्। समाजवादी पार्टीले जब उनलाई लोकसभा चुनाव लड्नका लागि टिकट दियो, तब एउटा डाँकुलाई संसदसम्म पुग्ने बाटो देखाइँदैछ भनेर निकै आलोचना पनि भयो।

उनी संसद्मा दलित र सीमान्तकृत वर्गका लागि उनी प्रतिरोधको प्रतीक बनिन्।
१९९४ मा उनको जीवनमा शेखर कपुरले ‘ब्यान्डिट क्वीन’ नामको फिल्म बनाए, जसले पूरै युरोपमा निकै लोकप्रियता पायो। माला सेनको पुस्तकमा आधारित यो फिल्मले फूलनको पीडा र विद्रोहलाई पर्दामा उतारेको थियो। सीमा विश्वासको सशक्त अभिनयले फिल्मलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनायो र राष्ट्रिय अवार्डसहित थुप्रै सम्मान दिलायो। तर फिल्म विवादरहित रहेन—विशेषगरी यौन हिंसाका दृश्यहरूलाई लिएर सेन्सर र स्वयं फूलनदेवीको तीव्र विरोध भयो। अदालतको आदेशपछि मात्रै फिल्म सार्वजनिक रूपमा प्रदर्शन भयो।
फिल्ममा फूलनदेवीलाई एक यस्तो बहादुर महिलाको रूपमा प्रस्तुत गरिएको थियो, जसले समाजका गलत कुप्रथाहरू विरुद्ध संघर्ष गरिन्। फूलनदेवीको कथा अपराध मात्र होइन, प्रतिरोधको इतिहास हो—जहाँ एउटा सीमान्तकृत महिलाले अन्यायको विरुद्ध आफ्नो बाटो आफैं कोरिन्, चाहे त्यो बाटो जति नै रक्तरञ्जित किन नहोस्।
उनको जीवनको अन्त्य पनि दुखद् रह्यो। सन् २००१ मा तीन नकाबधारीले फूलनदेवीलाई उनको दिल्लीको घर बाहिर गोली हानी हत्या गरिदिए।


