काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्। उनलाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको हो।
छातीमा समस्या भएपछि मुटुको परीक्षणका लागि उनलाई मंगलबार बिहान अस्पताल ल्याइएको अस्पताल स्रोतले जानकारी दिएको छ।
पौडेललाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखिएको छ। भर्नापछि मुटुको परीक्षणका लागि एनजिओग्राम गरिएको छ। अस्पताल स्रोतका अनुसार उनको एनजिओग्राफीको रिपोर्ट राम्रो देखिएको छ।
गंगालालका निर्देशक डा चन्द्रमणि अधिकारीसहितको टोलीले पौडेलको स्वास्थ्य परीक्षण र निगरानी गरिरहेको छ। अस्पतालका अनुसार एनजिओग्राम गरेपछि २४ घण्टा निगरानीमा राख्नुपर्ने हुन्छ।
वैशाख ६ गतेदेखि वैशाख १७ गतेसम्म भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारपछि उनी नेपाल फर्किएका थिए।


