काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि मतपत्र छपाइ तीव्र रूपमा अगाडि बढेको छ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीमा भइरहेको छ।
आयोगका अनुसार मिति २०८२ पुस २२ गतेदेखि सुरु गरिएको नमुना मतपत्र छपाइ अन्तर्गत १० लाख ९८ हजार २०० थान नमुना मतपत्र छपाइ सम्पन्न भई विभिन्न जिल्लामा पठाइसकिएको छ।
यसैगरी, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका मतपत्र छपाइ मिति २०८२ पुस २६ गतेबाट सुरु भई माघ १३ गतेसम्म आवश्यक पर्ने जम्मा २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरिएको छ। छपाइ गरिएका मतपत्रहरू प्याकिङ्ग तथा रुजु गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत आवश्यक पर्ने कुल २ करोड ३ लाख २३ हजार मतपत्रमध्ये माघ १६ गतेदेखि छपाइ सुरु गरिएकोमा माघ २२ गते बिहान ८ बजेसम्म विभिन्न निर्वाचन क्षेत्रका ७२ लाख ६० हजार मतपत्र छपाइ भइसकेको छ। ती मतपत्रहरू ५ हजार ८ सय २५ बाकसमा प्याकिङ्ग गरिएको छ।
आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा र सुनसरी गरी जम्मा २५ जिल्लाको मतपत्र छपाइ तथा प्याकिङ्ग कार्य सम्पन्न भइसकेको छ। माघ २२ गते आज बिहान ८ बजेसम्म ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जानकारी दिएको छ।


