काठमाडौँ: मधेश प्रदेशमा लालबाबु राउत नेतृत्वको पहिलो सरकारले सुरु गरेको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत २७ हजारभन्दा बढी साइकलमध्ये चार हजार भन्दा बढी साइकल जनकपुरधास्थित चुरोट कारखाना (मधेश भवन)को गोदाममा थन्किएका छन्।

मधेश प्रदेश सरकारले छात्राहरुलाई विद्यालय जान प्रोत्साहन गर्न ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम शुरु गरेको थियो। उक्त कार्यक्रमअन्तर्गतको एउटा कार्यक्रमका रूपमा छात्राहरुलाई साइकल बाँडेको थियो।

साइकल खरिदको योजनामा भ्रष्टाचार भएको उजुरीका आधारमा अख्तियारले छानबिन पनि गरेको थियो। छानबिनपछि १० करोड ३३ लाख बिगो दाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेकोमा दुई जना दोषी ठहर समेत भएका थिए।