काठमाडौँ: सरकारले गत भदौ २३ र २४ गतेको घटना छानबिनका लागि बनेको जाँचबुझ आयोगको म्याद सकिन अब चार दिन मात्रै बाँकी छ। पछिल्लोपटक गत माघ ८ गते तेस्रोपटक २० दिनका लागि सरकारले आयोगको म्याद थप गरेको थियो। जुन आगामी माघ २८ गते सकिँदै छ।
तेस्रोपटकको म्याद सकिनै लाग्दा आयोगले धमाधम प्रतिवेदन लेखनको कार्य गरिरहेको छ। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दवाडी, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, वर्तमान प्रहरी प्रमुख दानबहादुर कार्की, प्रधानसेनापति अशोकराज सिग्देलसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका संयोजक पुष्पकमल दाहाल र काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहलगायतसँग बयान लिएर पछिल्लो म्याद थपपछि प्रतिवेदन लेखनको कार्य गरिरहेको हो।
निर्धारित समयसीमाभित्रै प्रतिवेदन बुझाउनेगरी काम भैरहेको आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताए। आयोगले प्रतिवेदन बुझाएपछि सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्नेछ। यद्यपि, आगामी फागुन २१ गते निर्वाचन मिति तय गरेर देश चुनावमा गैसकेको अवस्थामा उक्त प्रतिवेदन चुनाव अघि नै सार्वजनिक हुन्छ/हुँदैन भन्ने स्पष्ट भैसकेको छैन।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि गठन भएको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको चुनावी सरकारले असोज ५ गते आयोग गठन गरेको थियो। सुरुमा तीन महिनाको म्याद रहेको उक्त आयोगले उक्त समयसीमाभित्र काम नसकेपछि सुरुमा एक महिना र त्यसपछि २० दिन म्याद थप भएको थियो।


