काठमाडौँ: एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (ईसीसीसआई) ले दोस्रो इन्डो–नेपाल ट्रेड फेस्टिभल २०२६ आयोजना गर्ने भएको छ। उक्त फेस्टिभल २० देखि २२ फेब्रुअरी २०२६ सम्म भारतको नयाँ दिल्लीस्थित पीएचडी हाउस, हौज खासमा सञ्चालन हुनेछ।
फेस्टिभल ईसीसीआईको पहलमा नेपाल दूतावास, नयाँ दिल्ली, नेपाल पर्यटन बोर्ड तथा ट्रेड एण्ड एक्सपोर्ट प्रमोशन सेन्टर नेपालको सहकार्यमा आयोजना हुन लागेको हो। पहिलो संस्करणको सफलतापछि यस वर्षको कार्यक्रमले नेपाल–भारत द्विपक्षीय व्यापार, लगानी, पर्यटन, सांस्कृतिक आदान–प्रदान र जनस्तरीय सम्बन्ध थप सुदृढ बनाउने लक्ष्य लिएको आयोजकले जनाएको छ।
यस वर्षको विषयवस्तुले दिगो आर्थिक विकास र दीर्घकालीन क्षेत्रीय सहकार्य का लागि मानवीय सम्बन्धलाई आधारशिलाका रूपमा प्रस्तुत गर्ने बताइएको छ। फेस्टिभलमा नेपाल र भारत सरकारका क्याबिनेट स्तरका मन्त्रीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ, जसले इन्डो–नेपाल आर्थिक सहकार्य, नीतिगत संवाद तथा सीमापार साझेदारीको रणनीतिक महत्त्वलाई थप उजागर गर्ने विश्वास गरिएको छ।
व्यापारिक गतिविधिसँगै फेस्टिभलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका चर्चित गायक–गायिका र कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ। साथै आगन्तुकहरूले परम्परागत नेपाली परिकारहरू विशेष रूपमा सजाइएका फुड स्टलमार्फत अनुभव गर्न सक्नेछन्।
फेस्टिभलका प्रमुख विशेषताहरूमा बीटूबी तथा बीटूजी बैठक, व्यापार, लगानी तथा एमएसएमई प्रदर्शनी, पर्यटन, आतिथ्य तथा वेलनेस प्रवर्द्धन, स्टार्ट–अप तथा नवप्रवर्तन प्रदर्शनी, नीतिगत संवाद तथा विशेषज्ञ प्यानल छलफल, उच्चस्तरीय सांस्कृतिक प्रस्तुतिहरू र परम्परागत नेपाली खानाको अनुभव रहेका छन्।
ईसीसीआईका अध्यक्ष युवराज बराल ले फेस्टिभललाई व्यापार, संस्कृति, पर्यटन र कूटनीतिलाई एकीकृत गर्ने समग्र इन्डो–नेपाल प्लेटफर्म का रूपमा परिकल्पना गरिएको बताउँदै यसले दीर्घकालीन सहकार्य र आपसी समृद्धिका लागि अर्थपूर्ण अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे।
आयोजकका अनुसार कार्यक्रममा अग्रणी कर्पोरेट संस्था, एमसीएमई, निर्यातकर्ता–आयातकर्ता, लगानीकर्ता, पर्यटन क्षेत्रका सरोकारवाला, स्टार्ट–अप, कूटनीतिज्ञ, नीतिनिर्माता, सञ्चारमाध्यम तथा सर्वसाधारण को उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। यसलाई यस वर्षकै सबैभन्दा व्यापक इन्डो–नेपाल द्विपक्षीय कार्यक्रमहरूमध्ये एक मानिएको छ।


