काठमाडौँ- सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्दामा कारणदेखाउ आदेश जारी गरेको छ। सशस्त्र विद्रोहमा बालबालिका प्रयोग गरेको आरोपमा न्यायाधीश सपना मल्ल प्रधानको इजलासले यस्तो आदेश जारी गरेको हो। ।
तत्कालीन नेकपा (माओवादी) हाल नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईविरुद्धको मुद्दामा कारणदेखाउ आदेश जारी गरेको हो।
यो मुद्दालाई अग्रधिकार दिनसमेत आदेश दिएको छ। १० वर्षे सशस्त्र संघर्षमा बालबालिका प्रयोग गरेको आरोपमा प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईलाई विपक्षी बनाएर तत्कालीन बालसैनिक लेलिन विष्टलगायतले मुद्दा दायर गरेका हुन्।
तत्कालीन द्वन्द्वमा माओवादीका तर्फबाट सामेल गराइएका व्यक्तिहरूले आफूहरू बालबालिका रहँदै अन्तर्राष्ट्रिय मानवअधिकार कानुनविपरीत सैन्य गतिविधिमा लगाइएको भन्दै मुद्दा लिएर दर्ता गरेका हुन्।


