काठमाडौँ: गत भदौ २३ र २४ को घटनासम्बन्धी छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद तेस्रोपटक थपिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थप २५ दिन आयोगको म्याद थप्ने निर्णय गरेको गृहमन्त्री तथा सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए।
यससँगै अब चुनावअघि आयोगको प्रतिवेदन नआउने निश्चित भएको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुन लागेकोमा आयोगको म्याद फागुन २४ गतेसम्म थप गरिएको हो।
सरकारले असोज ५ गते जेनजी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगको कार्यकाल तीन महिना रहेकोमा पुस ३ गते पहिलोपटक एक महिनाका लागि म्याद थप भएको थियो।
तर आयोगले तोकिएको समयभित्र प्रतिवेदन बुझाउन कठिन भएको जानकारी गराएपछि दोस्रोपटक माघ ८ गते २० दिन म्याद थप भएको थियो। थप भएको म्याद आगामी माघ २८ गते सकिँदैछ।
यसअघि आयोगले प्रतिवेदन लेखनको कार्य अन्तिम चरणमा रहेको बताएको थियो। निर्धारित समयमै प्रतिवेदन बुझाउने तयारी आयोगले गरे पनि निर्वाचनको मुखमा प्रतिवेदन कार्यान्वयनको दबाब बढ्ने देखेर सरकारले उक्त प्रतिवेदन आयोगमै अड्काउने नीति लिएको हो।


