काठमाडौं– विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन्।
यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ। रक्तदातालाई धन्यवाद दिनका रुपमा पनि मनाउने गरिन्छ। यस वर्ष ‘नियमितरुपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ।
नाराले जीवनपर्यन्त रगतको आवश्यक पर्ने बिरामीलाई रगत र प्लाज्मा दान गरेर सहयोग गर्न हरेक व्यक्तिले खेल्ने भूमिकाको महत्त्वलाई दर्शाएको छ। यसले नियमित रुपमा रगत र प्लाज्माको दानमार्फत दिगो र सुरक्षित आपूर्तिको महत्त्वबारे समेत चर्चा गरेको छ। यही अवसरमा देशभरका विभिन्न संघ–संस्था र अस्पतालले रक्तदानसम्बन्धी जनचेतना फैलाउने, दातालाई प्रोत्साहन गर्ने र रक्तदान कार्यक्रम आयोजना गरेका छन्।
दिवस अवसरमा ब्लड डोनर्स एसोसिएसन नेपालले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। एसोसिएसनले साताव्यापी चेतनामूलक कार्यक्रम आयोजना गरिरहेको एसोसिएसनका महासचिव केशव महर्जनले जानकारी दिए। ‘साइकल ¥याली, महिला रक्तदाता अभिमुखीकरण, चित्रकला र रक्तदाता सम्मानलगायत कार्यक्रम आयोजना गरेका छौं’, उनले भने, ‘अस्पतालमा रगत व्यवस्थापनमा असहज र रक्तादातालाई प्रोत्साहन गर्न नसक्नु अहिलेको चुनौती हो।’
यो दिनलाई मानव रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्यान्डस्टाइनरको जन्मदिन जुन १४ को अवसर पारेर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाइन्छ। पहिलो विश्व रक्तदाता दिवस सन् २००४ मा मनाइएको थियो भने सन् २००५ मा ५८औँ विश्व स्वास्थ्य सभाद्वारा वार्षिक विश्वव्यापी कार्यक्रमको रुपमा नामकरण गरिएको थियो।


