काठमाडौँ: आराध्यदेव भगवान् पशुपतिनाथको विशेष पर्व महाशिवरात्रिलाई लक्षित गर्दै पशुपति क्षेत्रको सरसफाइ, व्यवस्थापन र पूर्वतयारीका काम तीव्र पारिएको छ।
यसैक्रममा सामाजिक संस्था क्रियसन नेपालले आज पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रमा बृहत् सरसफाइ अभियान सञ्चालन गरेको छ। क्रियसन नेपालको आयोजनामा सम्पन्न उक्त अभियानमा संस्थाका स्वयंसेवक, स्थानीयवासी, सफाइकर्मी तथा पशुपति क्षेत्र विकास कोषका प्रतिनिधिको सहभागिता रहेको थियो।
अभियानअन्तर्गत मन्दिर परिसर, आर्यघाट, कैलाश डाँडा क्षेत्र आसपास तथा साधु–सन्त बस्ने स्थानमा विशेष सफाइ गरिएको थियो। साथै फोहर सङ्कलनलाई व्यवस्थित बनाउन विभिन्न स्थानमा डस्टबिन वितरण गरिएको छ भने सरसफाइमा खटिने सफाइकर्मीलाई पहिचानयुक्त ज्याकेटसमेत प्रदान गरिएको छ।
क्रियसन नेपाल विगत केही वर्षदेखि कोषसँग सहकार्य गर्दै सरसफाइ अभियानमा सक्रिय रूपमा संलग्न हुँदै आएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले जानकारी दिए। उनले भने, ‘महाशिवरात्रि पर्व नजिकिँदै जाँदा पशुपति क्षेत्रमा भक्तजनको चहलपहल बढ्न थालेको छ, क्रियसन नेपालले आज सरसफाइसहित डस्टबिन र ज्याकेट वितरण गर्नुका साथै आगामी शिवरात्रिमा स्वयंसेवक परिचालन गर्ने प्रतिबद्धता जनाएको छ।’
यस वर्षको महाशिवरात्रि पर्वलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्न मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरी तयारी अघि बढाइएको कोषले जनाएको छ। व्यवस्थापन, सुरक्षा, स्वास्थ्य सेवा, सरसफाइ, यातायात, स्वयंसेवक परिचालन, आवास व्यवस्था, प्रचार–प्रसार तथा समन्वय जस्ता क्षेत्रमा उपसमिति सक्रिय रूपमा खटिएका प्रवक्ता जोशीले बताए।
महाशिवरात्रिका दिन लाखौँ भक्तजन पशुपतिनाथ दर्शनका लागि आउने अनुमान कोषले गरेको छ। स्वदेशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत श्रद्धालु आउने भएकाले भीड व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको जनाइएको छ।


