२०८३ कार्तिक १४ गते शुक्रबार

‘प्रेम र जीवन’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २
khaendra

जीवनका बारेमा बोल्न त्यति ठूलो जोखिम हुँदैन, तर प्रेमको बारेमा बोल्नु खतरा हो।

मैले सोधेको थिएँ— ‘मैले भाइबहिनीहरूलाई प्रेम गर्नको निम्ति प्रेरित गर्ने हो कि?’ सरले के भन्नुभयो भने— ‘त्यसो होइन, बरु प्रेम नगर्न तपाईंले उपदेश दिनुपर्‍यो।’

वास्तवमा म त्यो गर्दिनँ।

एकजना विद्वानले मेरो जीवनी (एक बागी/उज्जवल प्रसाईँ) लेख्नुभएको छ। त्यो जीवनीमा मैले गरेका प्रेमहरूको पोल खोलिएको छ। नेपाली समाजमा प्रायः दुई-तीनवटा विषयमा छलफल गरिँदैन— प्रेमको बारेमा, सेक्सको बारेमा र मृत्युको बारेमा। नेपाली समाजमा यी विषयमा धेरै चर्चा गरिँदैन। तर जीवनमा सबैभन्दा बढी चर्चा गर्नुपर्ने तिनै तीनवटा विषय हुन् जस्तो लाग्छ मलाई।

कुनै बेला म पनि तपाईंहरू जस्तै विद्यार्थी थिएँ। त्यो बेलामा प्रेम गर्नु ठूलो उपद्रयाइँ मानिन्थ्यो। अहिले कस्तो मानिन्छ, मलाई थाहा छैन। मेरो समयमा प्रेम गरिन्थ्यो र लुकाइन्थ्यो। अहिलेको समयमा प्रेम गरिन्छ र प्रदर्शन गरिन्छ— फरक छ।

लामो समय मैले मेरा प्रेम कथाहरू लुकाइरहेँ। कुनै बेला मेरो, अहिले जो श्रीमती हुनुहुन्छ, उहाँसँग प्रेम भयो, विवाह भयो। विवाह भइसकेपछि पति-पत्नीले एक-अर्कासँग अभिनय गरिरहनुपर्छ। मैले जिन्दगीमा कहिल्यै कसैलाई आँखा जुधाएको छैन, प्रेमको त कुरै छोडिदिनुस्। पतिले पत्नीलाई त्यही भनिरहन्छ, पत्नीले पतिलाई त्यही भनिरहन्छ। तर जीवनको वास्तविकता के हो भने, जीवनमा प्रेम नगर्ने कोही पनि हुँदैन। कसैले प्रेमपत्र लेखेर प्रेम गर्‍यो होला, कसैले आँखा जुधाएर प्रेम गर्‍यो होला, कसैले त्योभन्दा बढी केही गरेर प्रेम गर्‍यो होला। जीवनमा प्रेम नगर्ने कोही पनि हुँदैन। लामो समय मैले आफ्ना प्रेमहरू लुकाएँ।

म त्यो प्रेम बारेमा मेरा केही अनुभवहरू तपाईंलाई सुनाउँछु। अहिले संसार तपाईंको औंलाको टुप्पामा छ। एउटा सानो यन्त्र तपाईंको हातमा छ, त्यसमा इन्टरनेट जोडिएको छ भने संसार तपाईंको औंलाको टुप्पामा हुन्छ। अहिलेको प्रेम जिब्रो र औंलाको भरमा गरिन्छ। त्यो यसो हेर्ने बित्तिकै तपाईंको कता-कता एउटा फोटो देखियो, फोटो देखेपछि केटालाई केटी मन पर्‍यो, केटीलाई केटो मन पर्‍यो। सजिलोसँग उसले भन्छ— ‘आई लभ यू’।

मेरो समय धेरै अप्ठ्यारो थियो। मेरो समयमा त्यो प्रेम गर्नुभन्दा कठिन र खतरनाक कुरा केही पनि थिएन। तैपनि मैले प्रेम गरेँ। अब प्रश्न के हुन्छ भने, विद्यार्थीको काम त पढ्ने हो, प्रेम गर्ने होइन। जसले प्रेम गर्छ, त्यो त उपद्रयाहा हो। म उपद्रयाहा पनि थिएँ, म पढाइमा राम्रो पनि थिएँ। म जसलाई मन पराउँथेँ, उसलाई आकर्षित गर्नको लागि, उसलाई प्रभावित गर्नको लागि म पढाइमा पनि जोड दिइरहन्थेँ। म क्लासमा पहिलो हुन्थेँ। पहिलो भएपछि मलाई के लाग्थ्यो भने— ‘अब त निजले मलाई प्रेम गर्लिन्।’

त्यो बेला बडो गाह्रो थियो। मेरा प्रेमपत्रको कुरा गर्छु। १० क्लासमा पढेको बेलामा मलाई एउटी केटी मन परिन्। त्यो बेलामा विद्यालयहरूमा पढ्ने केटीहरू धेरै हुँदैनथे। २५-३० जना केटाहरूको बीचमा १-२ जना केटीहरू हुन्थे। त्यसलाई रोज्नको लागि धेरै विकल्पहरू हुँदैनथे। त्यो सीमित केटीहरू माथि धेरैका आँखा गाडिन्थे। तिनको बीचमा प्रतिस्पर्धा हुन्थ्यो। कतिको बीचमा त झगडा पनि हुन्थ्यो होला। मलाई पनि कोही मन पर्‍यो। मन परेपछि अब त्यो बेला त केटा-केटीको बीचमा बोलचाल नै हुँदैनथ्यो।

तपाईंहरू अहिले एउटै बेन्चमा बस्नुहुन्छ। तपाईंहरू एक-अर्कालाई छुनुहुन्छ, केही अभिनय पनि गर्नुहुन्छ होला। मेरो पालामा अप्ठ्यारो थियो। कक्षामा केटा-केटीहरू अलग्गै बेन्चमा बस्थे। तिनको बीचमा बोलचाल नै हुँदैनथ्यो। बोलचाल भयो भने ‘केही सुरु भयो कि’ भनेर शंका गरिन्थ्यो के। मलाई कोही मन पर्‍यो र मैले प्रेमपत्र लेखेँ। अब मेरो समस्या के भयो भने, त्यो प्रेमपत्र मलाई मन परेको केटीको हातमा पुर्याउने कसरी? धेरै अप्ठ्यारो भयो। संयोगले मसँगै पढ्ने एउटा मित्रलाई त्यो कुरा थाहा भयो। उनले त्यो पत्र पुर्याउने भए।

अब एकान्तमा, समाजको आँखा छलेर, सबैको आँखा छलेर त्यो चिठ्ठी हातमा पुर्याउनुपर्ने भयो। त्यो केटीको घर जहाँ थियो, घरबाट आउँदाखेरि केही एकान्तका ठाउँहरू पनि थिए। मेरो साथी मेरो प्रेमपत्र पुर्याउनको निम्ति एकान्तमा कुरिरह्यो। आज कुर्‍यो भेट भएन, भोलि कुर्‍यो भेट भएन, पर्सि कुर्‍यो भेट भएन। तर एकदिन भेट भएर चिठ्ठी बुझायो। अब त्यो चिठ्ठी बुझाएपछि मेरो निद्रा हराम भयो— अब के हुने हो? आवेगमा, उत्तेजनामा वा मुर्खतावश चिठ्ठी लेखियो र पठाइयो, चिठ्ठी हात लागे पनि भोलिपल्ट तिनले मेरो प्रधानाध्यापकलाई उजुरी गरिन् भने मेरो त रामधुलाइ हुन्छ। रातभर मलाई निद्रा लागेन। भोलिपल्ट भयो, केही पनि भएन। कतै त्यो त जोसफोहोर गरेको पनि थाहा भएन। कुटाइ पनि खाइएन। त्यसको जवाफ कहिले आउला भनेर म कुरेर बसिरहेँ। एकदिन कुर्‍यो जोसफोहोर पनि छैन, कुटाइ पनि छैन, चिठ्ठीको जवाफ पनि आउँदैन। कुर्दाकुर्दा एक हप्ता बित्यो। त्यो एक हप्तामा मेरो सायद १-२ किलो मासु घट्यो होला के पिरोलोले।

कत्रो साहस गरेर पत्र लेखियो, पत्रको जवाफ नै आउँदैन। मैले अर्को चिठ्ठी लेखेँ। त्यो चिठ्ठी पुर्याउने साथी बडो विचित्रको थियो, मलाई उक्साइरहन्थ्यो— ‘केटा लेख्ने हो, लभ त गर्ने हो।’ दोस्रो चिठ्ठी पनि लेखियो। दोस्रो चिठ्ठी तिनै मेरा मित्रले तिनको हातमा पुर्याइदिए। पुर्याइदिएपछि त्यसको जवाफ आयो। त्यसको जवाफ पनि तिनकै हातमा कुनै एकान्तमा सबैका आँखा छलेर मेरो साथीको हातमा पर्‍यो र त्यो मेरो आँखामा पर्‍यो। जवाफ के आयो थाहा छ? धेरै रमाइलो जवाफ आएन। जवाफ के आयो भने— ‘मेरो आमाबाले मलाई अर्कैलाई दिन खोजिरहेका छन्। तिमीसँग मेरो प्रेम हुन, विवाह हुन कुनै सम्भव छैन। तिमी भानुभक्त बन।’

मैले त प्रेमिका बनाउन खोजेको थिएँ, त्यसको सट्टा मलाई आशीर्वाद प्राप्त भयो— ‘तिमी भानुभक्त बन।’ जीवनमा यस्ता अरु केही घटनाहरू भए, जसको बारेमा धेरै चर्चा गर्दिनँ। पछि म हाईस्कुलको टिचर भएँ, हाईस्कुलमा म अंग्रेजी पढाउँथेँ। मेरो हुनेवाली श्रीमती स्थानीय अस्पतालमा नर्स थिइन्। हाम्रो बीचमा प्रेम भयो, विवाह भयो, हाम्रा छोराछोरी पनि जन्मिए। त्यो प्रेमको बारेमा मैले कहीँ कसैलाई पनि चर्चा गरिनँ। मैले श्रीमतीको अगाडि अभिनय गरिरहने— ‘म तिमीप्रति अत्यन्त बफादार छु। तिमी बाहेक मैले जिन्दगीमा कसैसँग आँखा जुधाएको पनि छैन, कसैलाई स्पर्श गरेको पनि छैन।’

बाँकी त्योभन्दा परको त कुरै नगरौं। मेरो श्रीमतीलाई शंका भइरह्यो। किनभने हरेक मान्छेले प्रेम त गरेको हुन्छ। मेरो श्रीमतीले पनि मलाई त्यही भनिरहिन्— ‘तिम्रो कुरा सही हो, मैले पनि तिमी बाहेक कोहीसँग जिन्दगीमा आँखा जुधाएकै छैन।’

मेरो जीवनी लेख्नेले जीवनी लेख्दाखेरि त जीवनका सत्य कुरा लेखिनुपर्‍यो, त्यसले मेरो पोल खोल्दियो। त्यही पोल खोलेको हुनाले सायद त्यही मेरो जीवनी पढेर मलाई प्रेमको बारेमा बोल्न यहाँ डाकिएको होला— म त्यो अनुमान गर्छु।

प्रेम विभिन्न किसिमका हुन्छन्। आमा-छोरा बीचको प्रेम हुन्छ, बाउ-छोरीको बीचमा प्रेम हुन्छ, एउटै जातका, एउटै वंशका विभिन्न युवायुवतीहरूको बीचमा प्रेम हुन्छ। मान्छे र प्रकृतिको बीचमा प्रेम हुन्छ, मान्छे र पंक्षीको बीचमा प्रेम हुन्छ, मान्छे र पशुको बीचमा प्रेम हुन्छ, मान्छे र कविताको बीचमा प्रेम हुन्छ। प्रेम धेरै किसिमका हुन्छन्। तर म के अनुमान गर्छु भने मलाई आज चाहिँ ठिटाठिटीहरूकै प्रेम बारेमा बोल्नको निमित्त यहाँ डाकिएको हो कि।

प्रेम जीवनको केन्द्र हो। ब्रह्माण्डको केन्द्रमा प्रेम छ। प्रेमको कुनै भूगोल हुँदैन, प्रेमको भाषा हुँदैन, प्रेम कुनै सीमानाले बाँध्दैन, प्रेमको कुनै वर्ण पनि हुँदैन। प्रेम स्त्री र पुरुषहरूको बीचमा प्रेम हुन्छ, त्यो प्रेमलाई एक-अर्कामा रोक्ने कुनै पनि अवरोध हुँदैन। सबै सीमाहरूलाई भत्काएर प्रेम गरिन्छ।

अब हाम्रा समाजमा त के छ भने, हाम्रो यो हिन्दू वर्णव्यवस्थामा चलिरहेको समाज हुनाले कसले कुन जातसँग प्रेम गर्न मिल्ने, कसले कुन जातसँग प्रेम गर्न नमिल्ने भन्ने धेरै बन्देजहरू छन्। मेरो विवाह गुरुङसँग भयो। म त पूर्वीय कुमाई, पाँचथरमा जन्मिएको, काठमाडौंमा पढेको, कतै स्कूलहरूमा पढाएको, कलेजमा पढाएको। मेरो श्रीमती गुरुङ। अहिले अन्तरजातीय विवाह गर्न त्यत्रो गाह्रो हुँदैन। छुत र अछुतहरूको बीचको प्रेम चाहिँ अहिले पनि आपत्तिजनक मानिन्छ। कतिपय विष्ट र दलितहरूको बीचमा विवाह भएकै कारणले दुलाहा-दुलही मारिएका छन्, घरबाट लखेटिएका छन्, तिनका सम्बन्ध विच्छेद गरिएका छन्, धेरै अन्याय अत्याचार भएको छ। तर पानी चल्नेहरूका बीचमा अहिले प्रेम त्यति आपत्तिजनक हुँदैन। मेरो समयमा धेरै आपत्तिजनक थियो। म त बाहुनको छोरो पढेलेखेको, म आफ्नै खुट्टामा उभिएको थिएँ, म आफैंमा आश्रित थिएँ। तर मेरो श्रीमती गुरुङको छोरी भएको हुनाले मसँग विवाह गर्न उनलाई धेरै ठूलो समस्या भयो। त्यसले मेरो र मेरो श्रीमतीको प्रेममा अग्रसर भएको मेरो श्रीमती नै हो। श्रीमती बडो आक्रामक भइन्, श्रीमतीले प्रेम सुरु गरिन् र मैले मानिदिएँ।

यो कुरा सुनेपछि तपाईंलाई यो त बडो नालायक रहेछ भन्ने लाग्ला, बडो लाचार रहेछ भन्ने लाग्ला— त्यस्तो पनि होइन। प्रेम गर्न मलाई रहर नभएको होइन, आँट मात्रै नभएको हो। आँट मेरो श्रीमतीले, हुनेवाली श्रीमतीले गरिन्। तर उनको बाले अत्यन्त ठूलो आपत्ति जनाए। आपत्ति के जनाए भने— ‘तैंले दुइटा मध्ये एउटा कुरा रोज, कि त त्यो बाहुनलाई रोज कि बाउलाई रोज। त्यो बाहुनसँग तँ गइस् भने तेरो बाबु तेरो बाबु रहँदैन।’ आखिरमा मेरो श्रीमतीले निर्णय गरिन्, निर्णय गरेपछि हाम्रो विवाह भयो। विवाह भएको डेढ वर्षमा हाम्रो छोरी जन्मिन्। छोरी जन्मिएपछि पहिले सासू आउनुभयो, त्यसपछि ससुरा आउनुभयो। सन्तानहरूले एउटा पुलको काम गर्दो रहेछन्। मेरो छोरीले पुलको काम गरी, सासू आउनुभयो, ससुरा आउनुभयो, अरु सम्बन्धी आउनुभयो, हाम्रो सबै सम्बन्ध राम्रो भयो। आखिरमा मेरो ससुराको देहान्त मेरै घरमै भयो। ससुराको निम्ति सबैभन्दा प्यारो ज्वाइँ मै थिएँ, सबैभन्दा प्यारी छोरी मेरो श्रीमती नै थिइन्। यो भयो मेरो प्रेम कथा।

जीवनमा प्रेम गरिन्छ, प्रेम गर्नुपर्छ। तर जीवनमा प्राथमिकताहरू हुन्छन्। सबैभन्दा पहिले शरीरको भोग पूरा गर्नुपर्छ। शरीरको भोग पूरा गर्नको निम्ति लुगा लगाइन्छ, केही खाएर पेट भरिन्छ। खाएर पेट भरिसकेपछि मान्छेको सेक्सको चाहना होला, त्यो पनि शरीरकै भोग हो, त्यो पूरा गरिन्छ। तर मान्छेको चाहना त्यहाँ सीमित हुँदैन। तपाईंको पेट भरिएपछि, तपाईंले आङमा लुगा लाउन पाएपछि, तपाईंले सेक्सको तिर्सना मेटिसकेपछि त्योभन्दा पर पनि मान्छेका इच्छाहरू हुन्छन्। त्यो भावनात्मक इच्छा हो। तपाईंको साहित्यमा, कलामा, संस्कृतिमा तपाईंको चाख हुन्छ। प्रकृतिका विभिन्न रूप रङ्गहरूमा, त्यसका दृश्यहरूमा, त्यसका गतिहरूमा तपाईंको चाख हुन्छ— त्यो भावनात्मक चाख हो। त्योभन्दा पर गएपछि तपाईंको दर्शनमा चाख होला, तपाईंको भजनमा चाख होला, कीर्तनमा चाख होला— मान्छेका विभिन्न चाखहरू हुन्छन्। यी सबै प्रेमका विभिन्न रूपहरू हुन्। प्रेम भनेको स्त्री-पुरुष बीचको सम्बन्ध, यौनको आकर्षण मात्र होइन। तर के कुरा तथ्य हो भने प्रत्येक प्रेम सेक्सतर्फ लम्किरहेको हुन्छ। प्रेम प्रारम्भ हो, त्यसपछिको परिणति सेक्स हो— त्यो विवाहपछि हुन सक्छ, विवाहअघि पनि हुन सक्छ। त्यसपछि सन्तान उत्पन्न हुन्छन्। त्यसले प्रेम भनेको सृष्टिको स्रोत हो।

मेरो बा-आमाको कामवासनाबाट म जन्मिएको हुँ। कामवासनालाई नेपाली समाजमा घृणा गरिन्छ। नेपाली समाजमा सेक्सलाई घृणा गरिन्छ। नारीहरूको जब पहिलो रजस्वला हुन्छ, त्यसलाई घृणा गरिन्छ। तपाईंलाई छाउपडी प्रथा थाहा छ। रजस्वला हुँदाखेरि, बच्चा जन्मिँदाखेरि पश्चिमका केही भागहरूमा महिलाहरूलाई एकान्तमा लगेर थुनिन्छ। कति महिला सर्पले टोकेर मर्छन्, कति महिला जाडोले मर्छन्, बच्चाहरू त्यहाँ मर्छन्। त्यसले नेपाली समाजमा केही संकुचित कुराहरू छन्, नेपाली संस्कृतिमा विकृत कुराहरू छन्। महिलाहरूलाई जहिले पनि दोस्रो दर्जाको नागरिकको रूपमा हेरिन्छ र तिनको अपमान गरिन्छ, तिनीमाथि ताडना गरिन्छ।

प्रेम दुई थरीका हुन्छन्। समानतामा आधारित, समझदारीमा आधारित, सहकार्यमा आधारित प्रेम समान स्तरको हुन्छ— त्यो सुन्दर हुन्छ। जहाँ पुरुष ठूलो, महिला सानो, पुरुषले हेप्ने, महिला हेपिने, महिला पुरुषमाथि आश्रित हुने र पुरुषले जुँगा मुसार्ने— त्यस्तो समाजमा प्रेम असमान हुन्छ। हाम्रो समाजका अधिकांश प्रेमहरू असमान छन्। प्रेमलाई समान बनाउनको निम्ति हाम्रो समाजमा भएका धेरै अन्यायहरूलाई मेट्न आवश्यक छ, हटाउन आवश्यक छ। नारी र पुरुषहरूको बीचमा समानताको सम्बन्ध हुने परिवेशको निर्माण गर्नु जरुरी छ।

यति कुरा भनिसकेपछि मैले तपाईंलाई प्रेम गर्नुहोस् भनेर उक्साउन खोजेको होइन। तर मैले तपाईंलाई प्रेम नगर्नुहोस् भनेर अर्ती दिन खोजेको पनि होइन। प्रेम गर्ने तपाईंको अधिकार हो, तर प्राथमिकता हुनुपर्छ। विद्यार्थीको प्राथमिकता भनेको पढ्नु हो। तपाईंले तपाईंको पहिलो काम पढ्ने हो, सीप आर्जन गर्ने, ज्ञान आर्जन गर्ने, आफ्नो खुट्टामा उभिने हो। जहाँ स्वतन्त्रता हुँदैन, त्यहाँ समानताको प्रेम हुँदैन। तपाईं आर्थिक रूपमा पुरुषमाथि निर्भर हुनुहुन्छ भने, पारिवारिक रूपमा पुरुषमाथि निर्भर हुनुहुन्छ भने, धार्मिक रूपमा पुरुषमाथि निर्भर हुनुहुन्छ भने त्यो प्रेममा स्वतन्त्रता पनि हुँदैन, समानता पनि हुँदैन। मैले भन्न खोजेको कुरा यति मात्रै हो।

तपाईंहरूको बीचमा आउने अवसर प्राप्त भयो र मभन्दा अगाडि जुन महिलाले उद्घोषण गर्नुभयो, उहाँको त उद्घोषणको भाषा, त्यो आत्मविश्वास, भाषाको त्यो प्रवाह सबै हेर्दाखेरि मलाई के लाग्यो भने तपाईंहरूको उमेरमा मलाई त केही पनि थाहा थिएन। तपाईंहरू यस्तो समयमा जन्मिनुभएको छ, तपाईंको अगाडि सूचना तपाईंको नजिक छ, ज्ञान तपाईंको नजिक छ, पहुँच तपाईंको नजिक छ— तपाईंले धेरै अवसरहरू पाउनुभएको छ। तर यही समाजमा गरिबीको रेखामुनि धेरै मान्छेहरू छन्। यही समाजमा हेपिएकाहरू, सीमान्तकृतहरू धेरै छन्— महिलाहरू छन्, जनजाति छन्, दलित छन्, सीमान्तहरू छन्। तिनले तपाईंहरूले पाएका अवसरहरू पाएका छैनन्।

त्यसैले तिनप्रति हामीमा प्रेमको भावना हुनुपर्छ भन्ने मलाई लाग्छ। जो पछि परेका छन्, तिनलाई जीवनको प्रतिस्पर्धामा अगाडि ल्याउनको निम्ति तपाईं साहित्य-कलाको माध्यमबाट, समाजसेवाको माध्यमबाट, राजनीतिको माध्यमबाट धेरै कुरा गर्न सक्नुहुन्छ। हामीले यो समाजप्रति कृतज्ञ किन हुनुपर्छ भने, यो समाजको जुन तहमा हामी छौं— हामी कविहरू, लेखकहरू, तपाईंहरू विद्यार्थीहरू— जसले यति सुविधासम्पन्न कलेजमा पढ्न पाउनुभएको छ, यो अवसर नपाउने धेरै मान्छे यो समाजमा छन्। त्यसैले हाम्रा कर्ममा, हाम्रा वचनमा तिनको बारेमा हामीले विचार गर्नुपर्छ र यो जिन्दगीलाई बाँडेर बाँच्नुपर्छ भन्ने मलाई लाग्छ। समाजले तपाईंमाथि जुन लगानी गरेको छ, त्यसप्रति कृतज्ञ हुनुपर्छ। जीवनमा तपाईंको सेवाको भावना हुनुपर्छ, समर्पणको भावना हुनुपर्छ, त्यागको भावना हुनुपर्छ, समाजसँग जिउनुपर्छ।

(ग्लोबल कलेज अफ म्यानेजमेन्टअन्तर्गत द एड्भान्ट–ग्रेड लिटरेरी क्लबका विद्यार्थीहरूद्वारा आयोजित  ग्लोबल लिटरेचर फेस्ट २०२६ अन्तर्गत ‘प्रेम र जीवन’ सेसनमा प्रगतिशील लेखक तथा बाम चिन्तक खगेन्द्र सङ्ग्रौलाले गरेको सम्बोधन।)

प्रकाशित: २०८२ फाल्गुण २ गते शनिवार ०७:५४
प्रतिक्रिया

थप समाचार

महाकवि देवकोटाको कथा: ‘उनको मने’

खुकुरीले रेट्न थालेको मात्र थियो जुनुले उसको पाखुरा अकस्मात् समातेर रुँदै भनिन्, 'नकाट नि ! नकाट ! ! मेरो मनेलाई ।'

जोशीले ल्याए ‘बैसाखी’

काठमाडौँ: युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो कृति बैसाखी सार्वजनिक भएको छ। शनिबार काठमाडैंमा आयोजित एक समारोहबीच त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. महादेव अवस्थी, साहित्यकार...

गौतमको ‘फर्कनुछ देश’ र बस्नेतको ‘प्रवासी मनका भावनाहरू’ सार्वजनिक

काठमाडौँ: अमेरिकालाई कर्मथलो बनाउँदै आएका कवि गौतम सागरको कवितासंग्रह ‘फर्कनुछ देश’ र गीतकार मणिराज बस्नेतको गीतिसंग्रह ‘प्रवासी मनका भावनाहरू’ सार्वजनिक गरिएको छ। लेखकद्धयले शनिबार कोलोराडोस्थित...

‘बिसे नगर्चीको बयान’ प्रकाशनको १६ वर्षपछि मुकारुङको नयाँ कविता सङ्ग्रह बजारमा

काठमाडौँ: काव्यशिखर श्रवण मुकारुङको नयाँ कविता सङ्ग्रह 'आवाज नआइपुग्ने मेघको उज्यालो' सार्वजनिक भएको छ। 'बीसे नगर्चीको बयान' कविता सङ्ग्रह प्रकाशन भएको १६ वर्षपछि मुकारुङको नयाँ कविता सङ्ग्रह...

मौन आवाजको कविता सङ्ग्रह ‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ सार्वजनिक

काठमाडौँ: समकालीन नेपाली कविता आकाशका सशक्त हस्ताक्षर कवि मौन आवाजको कविता सङ्ग्रह ‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ सार्वजनिक भएको छ। आइतबार चन्द्रागिरि साहित्य समाजको आयोजनामा नेपाल प्रज्ञा–प्रतिष्ठानका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना