जाजरकोट– जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ। बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो।
वडाध्यक्ष शिवराज गिरीले भने, ‘बढ्दै गएको बालविवाहलाई दृष्टिगत गरी वडाले न्यूनीकरणका लागि सम्पूर्ण टोलबस्तीमा विवाहपूर्व वडाबाट सिफारिस लिई विवाह कार्य अगाडि बढाउन अनुरोध गरेको छ।’
विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरूको वास्तविक जन्ममिति थाहा हुने र बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा वडाले लिएको गिरीले जानकारी दिए। वडालाई बालमैत्री वडा घोषणा गरिएको छ।
बालमैत्री वडाको दिगोपनका लागि विवाहका लागि उमेर पुगेका युवायुवतीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम बनाइएको वडाध्यक्ष गिरीले बताए। जन्मदर्ता र नागरिकता साथमा ल्याई विवाहका लागि सिफारिस लिन सकिनेछ।



