काठमाडौं– मुटुमा समस्या देखिएपछि बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएका राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भई शीतलनिवास फर्किएका छन्। राष्ट्रपति पौडेललाई बिहान ८ बजे डिस्चार्ज गरिएको सहिद गंगालाल अस्पातलले जानकारी दिएको हो।
अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई २४घन्टे अवलोकन र उपचारपछि डिस्चार्ज गरिएको बताए। अहिले उनको अवस्था सामान्य रहेको छ।
मंगलबार बिहान ११ बजे उनलाई असहज भएपछि गंगालाल अस्पतालमा लगिएको थियो। गंगालाल अस्पतालमा पौडेलको मुटुको अवस्था हेर्न एन्जिओग्राम गरिएकामा सामान्य देखिएपछि अस्पतालले छुट्टी दिएको हो।


