काठमाडौँ: काठमाडौ क्षेत्र ९ का मतदाताले रोजगारको अभावका कारण युवाहरू विदेश जानु परेको र मुलुकभित्रै पनि श्रमिकहरू ज्यालामा ठगिनु परेको गुनासो गरेका छन्। शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालसँगको छलफलमा काठमाडौ वडा नम्बर १२ र २१ का मतदाताले यस्तो गुनासो व्यक्त गरेका हुन्।
छलफलमा, मतदाताहरूले विदेश जानुपर्ने बाध्यकारी अवस्थालाई रोक्न आग्रह गरेका छन्। उनीहरूले पुराना दलहरूले चुनाव जितेपछि आफूले आसेपासेलाई पोस्ने र जनताको समस्यालाई बिर्सने प्रवृत्तिका बारेमा पनि आपत्ति जनाएका छन्। यस्तै, शिक्षित युवाहरूले पनि ज्यालामा ठगिनु परेको गुनासो गरेका छन् र मतदाताको सुरक्षा सुनिश्चित गर्न पनि आग्रह गरेका छन्।
मतदाताहरूको गुनासो पछि, रास्वपाका उपसभापति अर्यालले नेपाल भित्रै रोजगारी सिर्जना गर्नका लागि अनेकौं सम्भावनाहरू रहेको उल्लेख गरे। उनले मुलुक भित्रै रोजगारीको अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे।
अर्यालले श्रमको सम्मान गर्दै समान पारिश्रमिकको व्यवस्था गरिने बताए। ‘काम गर्ने उमेरका विद्यार्थीलाई पढ्दै काम गर्न सक्ने व्यवस्था मिलाउने छौं। यसरी कामका लागि पढाइ छोड्नुपर्ने बाध्यता हटाउनेछौं,’ उनले थपे।
त्यसैगरी, उपसभापति अर्यालले मतदाताको सुरक्षा सुनिश्चित गर्न सरकार पूर्ण तयारी अवस्थामा रहेको बताए। उनले भने, ‘तर पनि गलत काम गर्ने व्यक्तिहरूलाई जनताले समातेर सम्बन्धित निकायलाई जिम्मा दिनुपर्नेछ।’
अर्यालले बिहान काठमाडौमा ८ का उम्मेदवार विराज भक्त श्रेष्ठ सहित धादिङका मतदाताहरूसँग पनि छलफल गरेका थिए।


