काठमाडौं। चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघसम्म) मा सवा ४० अर्ब रुपैयाँ भन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रतिबद्धता आएको छ।
उद्योग विभागका अनुसार कूल ५२४ परियोजनामार्फत ४० अर्ब २८ करोड रुपैयाँ भन्दा बढी लगानी प्रस्ताव आएको हो। जसबाट करिब २० हजार ८९६ जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ।
क्षेत्रगत रूपमा सूचना प्रविधि (आईटी) क्षेत्रमा सबैभन्दा धेरै २८८ परियोजना दर्ता भएका छन्। लगानी रकमका हिसाबले कृषिमूलक क्षेत्र अग्रस्थानमा देखिएको छ।
कृषि क्षेत्रमा १४ परियोजनाबाट २१ अर्ब ९० करोड रुपैयाँ प्रतिबद्धता आएको छ। यस्तै पर्यटन क्षेत्रका १५० परियोजनामा १० अर्ब ८६ करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ।
यसैगरी सेवामूलक क्षेत्रमा ३४ परियोजनाबाट तीन अर्ब ५४ करोड, उत्पादनमूलक क्षेत्रमा ३५ परियोजनाबाट दुई अर्ब चार करोड र ऊर्जा क्षेत्रमा एक परियोजनाबाट १८ करोड रुपैयाँ भन्दा बढी लगानी प्रस्ताव गरिएको छ।
माघ महिनामा मात्र ४९ परियोजनाका लागि एक अर्ब रुपैयाँ भन्दा बढी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।
सात महिनाको अवधिमा विदेशी लगानीकर्तालाई लाभांशबापत १६ अर्ब २६ करोड तथा रोयल्टीबापत चार अर्ब १९ करोड रुपैयाँ फिर्ता लैजान स्वीकृति दिइएको छ।


