काठमाडौँ: प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३६ पेज लामो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।
प्रलोपाले आफ्नो चुनावी प्रतिबद्धतापत्रमा रेलमार्ग, सुरुङमार्ग, काठमाडौँमा मेट्रो रेल र केवलकारलाई प्राथमिकतामा राखेको छ। प्रलोपाले चीनको केरुङदेखि काठमाडौँ–भारत (रक्सौला) रेलमार्ग निर्माणमा विशेष ध्यान दिइने बताएको छ। यस्तै पूर्वपश्चिम रेलमार्ग निर्माण तथा काठमाडौँमा मेट्रो रेल सम्भाव्यताको अध्ययन गरिने बताएको छ।
सगरमाथा आधार शिविरसम्म केवलकार बनाउने योजना पनि पार्टीले अघि सारेको छ। काठमाडौँ-सगरमाथा बेसक्याम्प, दिपायल-खप्तड-रारा, सुर्खेत-जुम्ला-खाँदाबारी र केचनाकवल-फक्ताङलुङ (कुम्भकर्ण)-सेसेलुङ (कञ्चनजंघा) केवलकारको सम्भाव्यता अध्ययनगरी कार्यान्व्यन गरिने प्रतिबद्धतापत्रमा भनिएको छ।
संघमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रदेशमा निर्वाचित मुख्यमन्त्री, पूर्ण समानुपातिक संसद् र ‘राइट टु रिकल’को व्यवस्था गर्ने प्रतिबद्धता पनि पार्टीले अघि सारेको छ। ‘एक व्यक्ति, एक पद, दुई कार्यकाल’ को कानुनी व्यवस्था गरिने तथा सांसदको भूमिका कानुन निर्माणमा सीमित गरिने प्रलोपाले बताएको छ।
यस्तै संसद्मा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गरिने प्रतिबद्धता प्रलोपाले गरेको छ।
पूर्णपाठ


