काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार काठमाडौँमा एक कार्यक्रममार्फत् नेकपा (संयुक्त)ले घोषणापत्र सार्वजनिक गरेको हो।
घोषणापत्रमा पार्टीले आत्ममूल्यांकन गरेको छ। सानो जनसंख्या भएको नेपालमा प्रचुर मानवीय र प्राकृतिक स्रोतसाधन र गौरवपूर्ण इतिहास भए पनि मुलुक बनाउने आफ्नै बाटो, त्यस्तो बाटो देखाउने जिम्मेवार राजनीतिक पार्टी नभएकाले उन्नति गर्न नसकिएको निष्कर्ष पार्टीको छ।
संविधान बनेपछि आर्थिक व्यवस्था बदल्ने कुरामा केन्द्रित हुनुपर्ने भए पनि आफूसहितका राजनीतिक दलले परियोजना केन्द्रित भएको निष्कर्ष पार्टीको छ। पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा नपुगिने भएकाले दलहरू पुरानै बाटो हिँडेकाले नेपाल नयाँ गन्तव्यमा नपुगेको घोषणापत्रमा भनिएको छ।
नेकपा संयुक्तले गणतन्त्र स्थापनापछि सरकारको नेतृत्व गरेका गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालले राजाकै गल्ती दोहोर्याएको आरोप लगाउँदै आर्थिक परनिर्भरताको अपमानपूर्ण इतिहासका बारेमा छलफल नै नगरिकन चुनावमा जान लागिएको बताएको छ। यसले सब्कटहरू आइरहने, राजनीतिक अस्थीरता भइरहने छ र नेपाल अझ पछि पर्दै जाने भन्दै आम जनतालाई सचेत गराउनेगरी घोषणापत्र सार्वजनिक गरिएको पार्टीको भनाइ छ।
घोषणापत्रमा सुरुमा इतिहासको समीक्षा गरिएकोमा त्यसपछि आगामी निर्वाचनका लागि पार्टीले आफ्ना प्रतिबद्धता राखेको छ।
घोषणापत्रमा भ्रष्टाचार विरुद्धको लडाइँलाई राष्ट्रिय लडाइँ बनाउनुपर्ने बताइएको छ। उद्यमी राष्ट्र निर्माणको पहिलो सर्त भ्रष्टाचार मुक्त राजनीति रहेको भन्दै घुस नखानेको पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। घोषणापत्रमा भनिएको छ, ‘हामीमाथि भ्रष्टाचारको आरोप नलाग्ने गरी अन्तर्राष्ट्रिय मञ्चमा उभिनसक्ने नेतृत्वबिना हामीले अरूमाथि प्रश्न गर्न सक्दैनौँ। त्यसैले उद्यमी राष्ट्र निर्माणको पहिलो सर्त भ्रष्टाचारमुक्त राजनीति हो। त्यसैले भ्रष्टाचार विरुद्धको लडाइँलाई राष्ट्रिय लडाइँ बनाउनुपर्छ। त्यसैलाई हामीले चलनचल्तीको भाषामा र साङ्केतिकरुपमा ‘घुस नखाने राजनीति, घुस नखाने पार्टी’ भनेका हौँ।’
त्यस्तै अहिले निर्वाचनको मैदानमा मुख्य शक्तिका रुपमा रहेका पूराना शक्तिहरूले आफ्नो अयोग्यता सावित गरिसकेको र नयाँ पार्टीलाई राष्ट्रले भोगिरहेका समस्याको कुनै परवाह नरहेको नेकपाको भनाई छ। नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) वर्तमान समयको मागलाई पूरा गर्न प्रतिबद्ध रहेको जनाइएको छ।
‘अहिले निर्वाचनको मैदानमा मुख्य शक्तिका रुपमा एकातिर ति पुराना शक्तिहरू छन्। जसले आफ्नो अयोग्यता सावित गरिसकेका छन्। अर्कोतर्फ ती नयाँ पार्टी छन् जसलाई राष्ट्रले भोगिरहेका समस्याको कुनै परवाह छैन। मानौँ उनीहरू रङ्गमञ्चमा आएपछि मात्रै नेपाली राजनीतिको इतिहास सुरु भएको हो। यसरी नेपालको राजनीति अँध्यारोतर्फ जाँदैछ, दुर्घटनातर्फ जाँदैछ। यस्तो अवस्थामा मुलुकले विचौलियातन्त्रका सहयोगी तथा आन्तरिक लोकतन्त्र मरिसकेका पुराना ठूला पार्टीहरूको विकल्प खोजेको छ। त्यस्तै, नयाँ भनिने सिद्धान्तहीन, विचारहीन, पपुलिष्ट पार्टीहरूको पनि विकल्प खोजेको छ। यो राष्ट्रिय राजनीतिक निराशालाई चिर्न सक्ने नयाँ क्रान्तिकारी शक्तिको आशा गरेको छ। हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) समयको त्यस मागलाई पूरा गर्न प्रतिबद्ध छ। आन्तरिक लोकतन्त्रलाई ग्यारेण्टी गर्दै दलाल पुँजीवादसँग लड्न सङ्कल्पबद्ध छ।’ घोषणापत्रमा लेखिएको छ।
घोषणापत्रमा राजनीति, राजनीतिक पार्टी र नेताहरूले यो तथ्यलाई हृदयङ्गम गर्न नसक्नु हाम्रो समृद्धिको असाध्यै ठुलो तगारो भएको उल्लेख गरिएको छ।
आवश्यकता र शर्तमा बाहेक विदेशी सहयोग
घोषणापत्रमा भनिएको छ, ‘अब सित्तैमा कसैले दिँदैन र कसैले दियो भने पनि बिनाशर्त दिँदैन। हाम्रो राजनीति, राजनीतिक पार्टी र नेताहरूले यो तथ्यलाई हृदयङ्गम गर्न नसक्नु हाम्रो समृद्धिको असाध्यै ठुलो तगारो हो। अब हामीले भन्न सक्नु पर्छ। हाम्रा आवश्यकता र शर्तमा बाहेक विदेशी सहयोग लिँदैनौँ’।’
यस्तो छ घोषणापत्र


