काठमाडौँः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सम्पन्न नगर्ने १५ वटा निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ।
कार्यालयले बुधबार सूचना जारी गर्दै विभिन्न सरकारी निकायबाट प्राप्त सिफारिसका आधारमा ती कम्पनीहरूलाई कालोसूचीमा राख्ने तयारी गरिएको जनाएको छ। सोही क्रममा सम्बन्धित कम्पनीहरूसँग लिखित स्पष्टीकरण मागिएको छ।
समयमै ठेक्का सम्पन्न नगरेको आरोपमा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ उपनियम (४क) अनुसार स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ।
सूचना प्रकाशित भएको मितिबाट सात दिनभित्र आफ्नो धारणा र स्पष्टीकरण पेश गर्न सम्बन्धित निर्माण कम्पनीहरूलाई निर्देशन दिइएको छ।



