काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगन थापाले आर्थिक रूपान्तरणको प्रतिज्ञा गर्दै आगामी दिनमा रोजगारी सिर्जना, कृषिमा आत्मनिर्भरता, निःशुल्क स्वास्थ्य उपचार, गुणस्तरीय शिक्षा र वैदेशिक रोजगारीको सुरक्षित व्यवस्थापनलाई केन्द्रमा राख्नुपर्ने बताएका छन्। बुधबार मधेश प्रदेशको जनकपुरमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसको प्रतिज्ञापत्र (घोषणापत्र) सार्वजनिक गर्दै उनले आर्थिक पुनर्संरचनाको खाका पेस गरे।
युवाले भोगिरहेको बेरोजगारी, न्यून आम्दानी र परिवार धान्न नसक्ने अवस्था मुख्य आर्थिक संकटका रूपमा रहेको उनको भनाइ थियो। कांग्रेसको सरकार बनेमा डिग्री प्राप्त गरेपछि पनि गोजी खाली रहने अवस्थाको अन्त्य गर्दै रोजगारी सिर्जना, सीप विकास र उत्पादनमुखी अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखिने उनले बताए।
आगामी पाँच वर्ष ‘कुशासन, गरिबी र बेरोजगारी’ विरुद्धको लडाइँ हुने र राज्यको नीति–निर्णय रोजगारी बढाउने दिशामा केन्द्रित गरिने उनको भनाइ थियो।
नेपालले वार्षिक करिब ४ खर्ब रुपैयाँ बराबरको अन्न, तरकारी र फलफूल आयात गरिरहेको उल्लेख गर्दै उनले यो रकम स्वदेशमै राख्ने लक्ष्य प्रस्तुत गरे। मल अभाव, ऋण नपाउने समस्या र बजार अस्थिरताबाट पीडित किसानलाई उत्पादन, आपूर्ति र मूल्य सुरक्षासहितको संरचना दिने प्रतिज्ञा गरिएको छ। ‘किसान र खानेपानीको दशक’ घोषणा गर्दै कृषि उत्पादकत्व बढाउने दीर्घकालीन योजना संकेत गरिएको छ।
थापाले स्वास्थ्य क्षेत्रलाई प्रत्यक्ष आर्थिक राहतसँग जोडे। बिरामी पर्दा उपचार खर्चकै कारण परिवार आर्थिक रूपमा ध्वस्त हुने अवस्थाको अन्त्य गर्न बीमा प्रणालीमार्फत एक रुपैयाँ पनि नतिरी उपचार सम्भव बनाउने लक्ष्य कांग्रेसले लिएको उनको भनाइ थियो। प्रदेशस्तरमै बलिया अस्पताल विकास गरेर राजधानी धाउनुपर्ने खर्चिलो बाध्यता हटाउने योजनाले ल्याउने, जसले क्षेत्रीय आर्थिक असमानता घटाउने उनले बताए।
यी हुन् थापाले बुधबार व्यक्त गरेका प्रमुख बुँदाहरू
- नेपाललाई हामी प्रत्येक नेपाली सम्मानित भएर बाँच्न पाउने बनाउनेछौँ। यो नेपालमा प्रत्येक नेपालीले सपना देख्न सक्ने र आफ्नो जीवनकालमा त्यो सपना साकार हुन सक्ने बनाउनेछौँ। यो नेपाललाई हामी पेटभरि खुवाउने अनि आफ्नो उत्पादनलाई संसारभरि चिनाउन सक्ने किसानको नेपाल बनाउनेछौँ। यो नेपाललाई हामी छोराछोरीलाई पढाउँदै गर्दा ऋण काट्न नपर्ने नेपाल बनाउनेछौँ।
- नेपाललाई हामी ओखती गर्दै गर्दा डराउन नपर्ने नेपाल बनाउनेछौँ। यो नेपाललाई हामी मौलिकतामा गौरव गर्ने तर सँगसँगै आधुनिकतामा लम्कने नेपाल बनाउनेछौँ। यो नेपाललाई हामी विश्वले स्वाभिमानी देश भनेर चिन्ने नेपाल बनाउनेछौँ। यो नेपाललाई हामी समुन्नतिमा लम्कने नेपाल बनाउनेछौँ। यो नेपाललाई हामी प्रत्येक नागरिक हैरानीबाट मुक्त भएको नेपाल बनाउनेछौँ। यो हाम्रो संकल्प हो, यो हाम्रो प्रतिज्ञा हो। यो १० वर्षमा, १५ वर्ष लाग्ला, यो पाँच वर्षभित्रै सबै कुरा पूरा हुन्छन् भन्ने होइन। तर योभन्दा अगाडि अब नेपाली कांग्रेसका प्रत्येक पाइलाहरू, प्रत्येक निर्णयहरू यही लक्ष्य भेट्टाउनका निम्ति हुनेछन्, यो हाम्रो प्रतिज्ञा हो।
- अब प्रश्न गर्दै गर्दा कुनै युवक भदौ २३ मा राज्यको गोलीबाट मारिएजस्तो मारिनु पर्दैन, यो हाम्रो प्रतिज्ञा हो। अब कसैले नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैन, यो हाम्रो प्रतिज्ञा हो। हामी यस्तो नेपाल बनाउन चाहन्छौँ।
- भदौ २३ र २४ गते थुप्रै तन्नेरीहरू सडकमा आए। ती तन्नेरीहरूको भावनालाई नेपाली कांग्रेस पार्टी पूर्ण रूपमा ग्रहण गर्छ।
- कानुन ठूलाका लागि चैन र सानाका लागि ऐन, यो अध्याय अब समाप्त भयो। अब नेपालको प्रधानमन्त्री वा नेपालको कोही पनि ठूलो व्यक्ति कुनै पनि काण्डमा मुछिएको कुरा नहुने कुराको ग्यारेन्टी नेपाली कांग्रेसले गराउँछ।
- किसानले खेती गर्ने बेलामा मैले मल कहिले पाउँछु भनेर लाइन बस्नु पर्दैन।
- एउटा युवकले लाइसेन्स लिन जाँदै गर्दा घुस दिनु पर्दैन।
- प्रत्येक जाति, प्रत्येक समुदाय, प्रत्येक भाषा, प्रत्येक संस्कृति, प्रत्येक धर्मलाई आफ्नो ठाउँ चाहिएको छ। त्यो ठाउँ खोसेर होइन, त्यो ठाउँलाई अझ फराकिलो बनाएर, सनातनदेखि चलिआएको धर्म, संस्कृति, परम्परा, मान्यतालाई जोगाएर, तर यहाँभित्रका सबै धार्मिक अल्पसंख्यकले पनि आफ्नो धर्म अभ्यास गर्ने ठाउँ सबैलाई सिर्जना गरेर सँगसँगै लिएर यहाँभित्रका दलित, थारु, अल्पसंख्यक, मुस्लिम सबै समुदायलाई सँगसँगै लिएर गएर सबैको अधिकार संरक्षण गरेर विकासको त्यो ठाउँमा हामी पुग्ने हो, यो संकल्प गरेर आएका छौँ।
- नेपाली कांग्रेस पार्टीको तर्फबाट हामीलाई कुनै भ्रम छैन, देश एक्लैले कसैले बनाउन सक्दैन। तपाईं कांग्रेसलाई मत दिनुस् अनि नेपाली कांग्रेसबाट हामी बन्छौँ र चटक्क गरेको जस्तो देश बन्छ भन्ने होइन। नेपाली कांग्रेसले टिम नेपालको नेतृत्व गर्छ। तर त्यो टिम नेपालमा ६,७४३ वटा वडाको वडा अध्यक्ष पनि रहन्छ, ७५३ वटा पालिका पनि रहन्छ, ७ वटा प्रदेश पनि रहन्छ, संसदभित्र रहेका सबै पार्टी रहन्छ। कांग्रेसको टिम नेपालभित्र एमाले पनि रहन्छ, माओवादी पनि रहन्छ, रास्वपा पनि रहन्छ, जसपा पनि रहन्छ। सबैलाई मिलाएर त्यसको नेतृत्व गरेर देश बदल्ने जिम्मा लिएर हामी आएका छौँ। देशभित्र रहेको नागरिक पनि रहन्छ, देश बाहिर काम गर्न गएको युवक पनि रहन्छ, देशको निजी क्षेत्र पनि रहन्छ, सामाजिक धार्मिक संस्थाहरू पनि रहन्छन्। यी सबैलाई जोडेर टिम नेपालले अब पाँच वर्ष लड्छ।
- हामी सिङ्गो मधेसको नेतृत्व गर्न चाहन्छौँ, मधेसको मुद्दालाई बोक्न चाहन्छौँ। संविधानमा धेरै कुरा लेखिएको छ तर अझै केही कुरा बाँकी छन्। पहिचान, प्रगति, प्रतिष्ठा, आत्मसम्मान, समान व्यवहार, न्याय– यी तमाम विषयलाई समेटेर लैजानु पर्नेछ। ११७ जनाको शहादतपछि नेपालले संघीयता पाएको हो। यसलाई जोगाउनु पनि पर्नेछ र कामकाजी पनि बनाउनु पर्नेछ। यो पाँच वर्ष प्रदेश सरकारसँग मिलेर मधेस प्रदेशलाई नै केन्द्रमा राखेर संघीयता किन चाहिन्छ भन्ने कुरालाई हामी प्रमाणित गर्न चाहन्छौँ।
- आज मधेसको विद्यालयमा गणित र विज्ञानको कमजोरी भइरहेको छ। अब नेपालले सूचना प्रविधिको मौका पाउँदैछ, लाखौं नयाँ रोजगारी सिर्जना हुँदैछ। तर हाम्रो मधेसको विद्यालयको स्तर सुध्रेन भने मधेसका युवाहरू फेरि बन्चित हुनेछन्। त्यसैले हामी यहाँ गणित र विज्ञानको पढाइ सुधार्न र यसलाई फेरि ज्ञानको केन्द्र बनाउन चाहन्छौँ।
- बिमाको कार्ड निकालेर टेबुलमा राखेपछि एक रुपैयाँ पैसा नतिरी उपचार गरेर फर्किन पाउने अवस्था निर्माण गर्ने संकल्प लिएर आएका छौँ। मधेसका अस्पताललाई बलियो बनाउनेछौँ। उपचारका लागि काठमाडौं धाउनु पर्ने अवस्थाको अन्त्य गर्नेछौँ।
- मधेस अन्नको भण्डार त हो तर किसान सबैभन्दा बढी दुःखमा छन्। म सर्लाहीमा तीन-चार दिन घुमें– उखु किसान, आलु किसान रुवाबासी गरिरहेका छन्। मल नपाएको, ऋण नपाएको कथा छ। यो दशकलाई किसानको र खानेपानीको दशक बनाउने संकल्प छ हाम्रो।
- वैदेशिक रोजगारीमा गएको साथीले कुनै नेतालाई भन्नु पर्दैन, उसले एक रुपैयाँ पैसा नतिरी विदेश जान पाउने र विदेशमा हुँदा पनि उसको सुरक्षाको जिम्मा सरकारले लिनेछ। तपाईंहरू कतार, मलेसिया जहाँ भए पनि तपाईंको सुरक्षाको जिम्मा हाम्रो। तपाईंले कमाएको पैसामा सरकारले केही थपेर तपाईं फर्किँदा कुनै न कुनै व्यवसायको मालिक बनेर फर्किने ग्यारेन्टी हामी गर्छौँ।
- हामी यहाँ रोजगारी सिर्जना गर्न चाहन्छौँ। मधेसमा अपार सम्भावना छ। ४ खर्बको हामी अन्नपात, तरकारी, फलफूल आयात गर्छौँ। यो पैसा हामी मधेसमै राख्न चाहन्छौँ। यहाँका नौजवानहरूलाई क्रिकेट एकेडेमी, रङ्गशाला लगायतका पूर्वाधार बनाएर खेलकुदमा पनि अगाडि बढाउने हाम्रो योजना छ।
प्रकाशित: २०८२ फाल्गुण ६ गते बुधबार ०६:३६