काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुँजीबजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउनगरी नीति तथा कार्यक्रम ल्याउने बताएको छ। आफ्नो चुनावी घोषणापत्रमा रास्वपाले धितोपत्र ऐन, २०६३ मा आवश्यक संशोधन गरी नियामक निकायको संरचना पुनर्गठन गर्ने, पर्याप्त जनशक्ति व्यवस्थापन गर्ने तथा संस्थागत स्वायत्तता सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।
बाचापत्रअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको पुनःसंरचना गरी निजी क्षेत्रको सहभागिता बढाइने तथा प्रतिस्पर्धात्मक डिपोजिटरी सेवा विकास गरिने योजना अघि सारिएको छ। यससँगै पुँजी बजारमा इन्ट्राडे कारोबार, शर्ट सेलिङ, फ्युचर्स, अप्सन तथा डेरिभेटिभ वित्तीय उपकरणहरू चरणबद्ध रूपमा सुरु गरी नेप्सेलाई अन्तर्राष्ट्रिय स्तरको बजारका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।
पार्टीले इनसाइडर ट्रेडिङ (भित्री कारोबार) र बजार हेरफेरविरुद्ध शून्य सहनशीलता नीति लागू गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको छ। साथै आईपीओ प्रणालीमा सुधार गर्दै निष्पक्ष बाँडफाँड, बुक बिल्डिङ प्रणालीको परिमार्जन तथा समयमै सूचीकरण सुनिश्चित गर्ने नीति पनि बाचापत्रमा समावेश गरिएको छ। रास्वपाले यी सुधारहरू कार्यान्वयन भएमा पुँजीबजारप्रति लगानीकर्ताको विश्वास बढ्ने, बजारको स्थायित्व सुदृढ हुने र दीर्घकालीन लगानी आकर्षित हुने अपेक्षा गरेको छ।


