काठमाडौँः चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि माघसम्म नेपालले ११ खर्ब २३ अर्ब ४८ करोड रुपैयाँ बराबरका वस्तु तथा सेवा आयात गरेको छ।
सोही अवधिमा १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभाग को तथ्यांकले देखाएको छ। आयात र निर्यातबीचको ठूलो अन्तरका कारण सात महिनामै व्यापार घाटा ९ खर्ब ६६ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिमा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँको आयात भएको थियो। यस वर्ष आयात १३.६५ प्रतिशतले बढेको देखिन्छ। निर्याततर्फ भने उल्लेख्य सुधार देखिएको छ। अघिल्लो वर्षको सात महिनामा १ खर्ब २७ अर्ब २० करोड रुपैयाँको निर्यात भएकोमा चालू वर्षमा यो बढेर १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ, जुन ३२.१९ प्रतिशतको वृद्धि हो।
यद्यपि निर्यात बढे पनि आयातको उच्च दरका कारण व्यापार सन्तुलन सुधार हुन सकेको छैन। अघिल्लो वर्ष सोही अवधिमा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ रहेको व्यापार घाटा यस वर्ष १०.९१ प्रतिशतले बढेर ९ खर्ब ६६ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ।


