२०८३ कार्तिक २३ गते आईतबार

‘मेचीपारिको नेपाल’ का नागरिकको ३४ वर्षदेखि एउटा पुल बनाउने माग

 |  चन्द्रकला भण्डारी
Sanket

चन्द्रकला भण्डारी

काठमाडौँ, फाल्गुण १७
202602281937-60e36e4e-bf07-46cc-b879-53dbc5662df3_medium-1772290299

झापा। नेपालको पूर्वी सीमाना ‘मेची नदी’ले कोरेको छ। तर, नक्सामा कोरिएको त्यो रेखा र नदीको पानीको बहावले मेचीनगर नगरपमलिका-१५ ज्यामिरगढीको भूगोलमा पर्ने ग्वालाबस्ती, होपना बस्ती र शिशौ डाँगीलाई यहाँका स्थानीय ‘मेचीपारिको नेपाल’ भन्न रुचाउँछन्। मेची नदीमा पुल नहुँदा आवागमनमा सास्ती हुनुका साथै एउटा टापुजस्तो बनेका यी तीन गाउँका नागरिकले ३४ वर्षदेखि एउटा पुल बनाइदिने माग राख्दै आएका हुन्।

स्थाीयका अनुसार यी तीन गाउँ ‘मेचीवारिको नेपाल’बाट वर्षौंदेखि उपेक्षामा परेका छन्। राजनीतिक दल र तिनका प्रतिनिधि निर्वाचनको समयमा उपस्थित हुने र उम्मेदवारबाट आश्वासन मात्र आउने गरेको ८२ वर्षीय राजेन्द्र यादवले बताए। “यतिबेला देशभर निर्वाचनको वातावरण बन्दै गएको छ। सहरदेखि दुर्गम गाउँसम्म उम्मेदवारका गाडी, झन्डा र चुनावी गीतको गुञ्जन सुनिन्छन्। तर, मेची नदीभन्दा पूर्वपट्टि अवस्थित यी तीन बस्तीमा यो पटक विरक्तलाग्दो सन्नाटा छाएको छ”, उनले भने।

यादवले आफ्नो जीवनकालमा धेरै व्यवस्था बदलिएको देख्नुभयो, धेरै चुनावमा मतदान गर्नुभयो। तर, मतदानको मिति नजिकै आइपुग्दा पनि यसपटकको जस्तो उदासीनता र सन्नाटा उहाँले गाउँमा कहिल्यै महसुस नगरेको बताए। “पहिले चुनाव आउँदा गाउँमा रौनक हुन्थ्यो, नेताहरू आउँथे। केके न होला जस्तो हुन्थ्यो”, उनले भने, “तर यसपालि गाउँमा चुनावको चर्चा छैन, कुनै उम्मेदवार हाम्रो आँगनमा पाइला टेक्न आइपुगेका छैनन्। हामी त नेपालभित्रै भएर पनि नदेखेको मान्छे जस्तो भयौँ।”

मेची नदीका कारण टापुजस्तो यी तीन गाउँ रहेका बताउँदै यादवले यस क्षेत्रमा १५० भन्दा बढी परिवारको बसोबास रहेको जानकारी दिए। यहाँका बासिन्दा आर्थिक रूपमा विपन्न भए पनि कर्ममा भने निकै धनी छन्। आदिवासी समुदायका राजवंशी, सन्थाल र यादवहरूको सघन बसोबास रहेको यो क्षेत्र कृषिका लागि उर्वर भूमि हो। यहाँ धान, मकै र गहुँ मात्र होइन, व्यावसायिक रूपमा तरकारी, खरबुजा र भुइँकटहरको खेती गरेर किसानले पसिना बगाइरहेका छन्।

पचास वर्षीया साइली टुडुलाई अहिले निर्वाचनको लहरले केही छोएको छैन। उहाँ बगर खेतमा फलेका आलु खन्न व्यस्त हुनुहुन्छ। यही फागुन २१ गते मतदान गर्ने दिन हो भन्ने कुरा उहाँले कतैबाट सुन्नुभएको छ, तर उम्मेदवार कोको हुन् ? कुन चिह्नमा भोट हाल्ने ? मतदाता शिक्षा के हो ? यी प्रश्नको उत्तर उहाँसँग छैन। “बाटो अप्ठेरो छ, बगरै बगर हिँड्नुपर्छ भनेर नेताहरू हाम्रा गाउँमा नआएका होलान्”, टुडुले भने, “अघिल्ला चुनावमा आउनेहरूले मेचीमा पुल बनाइदिन्छु भनेर धेरैपटक ढाँटे। यसपालि ढाँट्न पनि कोही आएका छैनन्।”
मेचीपारिका बासिन्दाको सबैभन्दा ठूलो र साझा पीडा भनेकै मेची नदीमा पुल नहुनु हो। सामान्यतया मेची नदीलाई सीमा मानिए पनि यहाँको भूगोल अलि भिन्न छ। नेपाल–भारत सीमाको ९४/१ सीमास्तम्भ छेउमा नेपाली बस्ती छ, तर बीचमा मेची नदी तगारो बनेर उभिएको छ। बर्खा लागेपछि जब मेचीमा बाढी आउँछ, तब यो बस्तीको सम्पर्क बाँकी नेपालसँग पूर्ण रूपमा टुट्छ।

“हामीले ३४ वर्षदेखि चुनावका बेला सधैँ एउटा पुल मागिरहेका छौँ”, स्थानीय राजेन्द्र यादवले भने, “हरेक चुनावमा नेताहरूले झोलुङ्गे पुलको आश्वासन बाँड्छन्। तर जितेर गएपछि उहाँहरूलाई यहाँ पुल चाहिन्छ भन्ने सम्झिन फेरि अर्को चुनाव कुर्नुपर्छ।” पुल नहुँदा यहाँको जनजीवन कति कष्टकर बनिरहेको छ भन्ने थाहा पाउन शिक्षा र स्वास्थ्यको दूरावस्था हेर्नुपर्ने उहाँले बताउनुभयो। “बाढी आएका बेला यहाँको एउटा प्राथमिक विद्यालय तीन महिनासम्म बन्द हुन्छ। शिक्षकहरू नदी तरेर आउन सक्दैनन्, अनि बालबालिकाहरू शिक्षाको उज्यालोबाट वञ्चित हुन्छन्”, उनले भने।

राज्यको उपस्थितिको अभावमा यहाँका बालबालिकाको भविष्यसमेत छिमेकी मुलुक भारतसँग आश्रित हुन पुगेको स्थानीय प्रदीप मुखियाले बताउनुभयो। उहाँका कान्छा छोरा नजित मुखिया नेपाली विद्यालय छाडेर भारतको पश्चिम बङ्गालस्थित मिसन स्कुलमा पढ्न थालेका छन्। “हाम्रो गाउँको स्कुलमा शिक्षकहरू वर्षामा वा अन्य समयमा पनि ठूलो पानी पर्न थालेपछि आउँन सक्दैनन्”, नजितले भने, “अनि भारतको स्कुल पढ्न जान्छौँ।” उहाँ मात्र होइन, यो बस्तीका अधिकांश बालबालिकाले कक्षा २ पछि थप अध्ययनका लागि भारतीय विद्यालयको भर पर्नुपर्ने अवस्था छ।

स्वास्थ्यको अवस्था झनै भयावह र कष्टपूर्ण छ। दुई वर्षअघि राजेन्द्र यादवका छोरा मोतिलाल यादवलाई पक्षाघात भयो। “समयमा उपचार पाउनु त परको कुरा, मेचीमा पुल नहुँदा बिरामीलाई महिनौँदिनसम्म अस्पताल लैजान सकिएन। समयमा भद्रपुरको प्रादेशिक अस्पताल वा धुलाबारीको मेचीनगर अस्पताल पुर्‍याउन पाएको भए छोरा निको हुन्थ्यो होला”, वृद्ध बाबुले आँखा रसाउँदै भने, “अहिले छोराको हातखुट्टा चल्दैनन्। बुहारीले भात खुवाइदिनु परेको छ। हामी त राज्यविहीन नागरिक जस्तै भयौँ।”

यहाँका बासिन्दाले भोगिरहेको अर्को ठूलो समस्या भू-स्वामित्वको हो। पुस्तौँदेखि जोतभोग गर्दै आएको जमिनको धनीपुर्जा उहाँहरूसँग छैन। ऐलानी जग्गामा बसोबास गरिरहेका यहाँका किसानलाई कुन दिन राज्यले वा नदीले उठीबास लगाउने हो भन्ने त्रास सधैँ रहिरहन्छ। बीस वर्षअघिसम्म यहाँ करिब ५०० परिवारको बसोबास थियो, तर धनीपुर्जा नपाउने र विकासको कुनै सम्भावना नदेखेपछि धेरै परिवार भारततिरै पलायन भइसकेका छन्।

“नागरिकता त छ, तर बस्ने जमिनको धनीपुर्जा छैन”, राजेन्द्रले भने, “सुरक्षाका लागि कहिलेकाहीँ प्रहरीको गस्ती आउँछ, तर हामीलाई यहाँ एउटा स्थायी सुरक्षा पोस्ट र आफ्नो जमिनको धनीपुर्जा चाहिएको छ।” बिजुली बत्ती भर्खरै ग्वालाबस्तीसम्म पुगे पनि होपना बस्तीका कतिपय घर अझै पनि मट्टितेलको टुकीको भरमा रहेका उहाँको भनाइ छ।

स्थानीय प्रदीपका दुई छोरा घरमा बिजुलीको सुविधा नपुगेकाले साँझमा सधैँ ‘मट्टितेलमा टुकी’को मधुरो उज्यालोमा पढ्न बाध्य छन्। पिउने पानीका लागि आफैँले गाडेको ट्युबवेल र सिँचाइका लागि आफ्नै खर्चमा किनेको जेनेरेटरको भर पर्नु यहाँको बाध्यता भएको उनले बताए।

यी गाउँमा जन्मिएका कसैले पनि सरकारी जागिरे बन्ने र वैदेशिक रोजगारीमा जान पाउने अवसर आजसम्म नपाएकामा प्रदीपले चिन्ता व्यक्त गरे। अधिकांशको जीविकाको माध्यम खेतीपाती हो। पिउने पानीको सुविधाका लागि ट्युबवेल र सिँचाइका लागि डिप बोरिङको माग गर्दै दर्जनौँ पटक वडा कार्यालय, नगरपालिका र नेताको घरमा धाउँदा आश्वासन मात्र पाएको स्थानीयवासी बताउँछन्।

मेचीपारिका यी तीन गाउँका बासिन्दाले सोधिरहेको साझा प्रश्न, “के हामी यो देशका नागरिक होइनौँ ? यदि हौँ भने हाम्रो घरसम्म एम्बुलेन्स गुड्ने बाटो, मेचीको बाढी तर्ने झोलुङ्गे पुल, हाम्रा खेतको उत्पादन बढाउन सिँचाइका लागि डिप बोरिङ र हाम्रा छोराछोरीले नेपाली भाषामा माध्यमिक तह पढ्न पाउने अवसर खोई ?”

निर्वाचन आउँछ र जान्छ, तर यी सीमान्तकृत नागरिकका समस्या जहाँको तहीँ रहने गरेका छन्। उनीहरूलाई कुनै राजनीतिक दलको विचार वा सिद्धान्तसँग सरोकारभन्दा पनि यस्तो जनप्रतिनिधि चाहिएको छ, जसले मेचीमा पुल हालोस् र उनीहरूलाई वास्तविक रूपमा मुलुकसँगै जोड्दै सहज जीवनयापन गर्ने वातावरण बनाउन पहल गरोस्।

यहाँका किसान अहिले परवलका लहरा गोडमेल गर्न र बेमौसमी मकैलाई पानी लगाउन व्यस्त छन्। उनीहरूको पौरखले माटो भिजे पनि अतिआवश्यक सुविधाबाट वञ्चित हुनुपर्दा सबैको मन सुक्खा भएर दुखेको छ। यसपटकको चुनावी सन्नाटाले नेताहरूप्रतिको वितृष्णा मात्र होइन, एउटा निराशाको सङ्केत गरिरहेको स्थानीय प्रदीपले बताए। “यहाँका तीन गाउँलाई मूलधारसँग जोड्न अब आश्वासन होइन, वर्षौंदेखि अपुरो रहेको मेची नदीमा पुल बनाउने सपनालाई साकार तुल्याउन दह्रो इच्छाशक्ति र ठोस पहलको खाँचो छ”, उनले भने।

प्रकाशित: २०८२ फाल्गुण १७ गते आईतबार ०९:१८
प्रतिक्रिया

थप समाचार

व्यापारी गाउँमै पुग्दा स्याउ किसानले पाए राम्रो मूल्य

मुगु: हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउ खेती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ। तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण दाना झर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा...

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

मुस्ताङ: तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ। तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेका हुुन्। यस...

भोटे कुकुर: भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन्। बीस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किनुभएका ५० वर्षीय छन्त्यालले...

तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरूको भिड (फोटो)

तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ। असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको...

तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ। तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ। चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना