इलाम: २०४८ पछिका संसदीय निर्वाचनहरूमध्ये २०५१ को मध्यावधीमा नेपाली कांग्रेसबाट निर्वाचित कुलबहादुर गुरुङलाई छाड्ने हो भने सबै निर्वाचनहरूमा इलाम–२ बाट एमालेका उम्मेदवारहरूले जितेका छन्। कतिसम्म भने २०६४ को पहिलो संविधानसभा निर्वाचनमा देशैभर एमाले खुम्चिएको थियो। त्यसवेला एमालेबाट केही उम्मेदवार मात्रै विजयी भएकोमा यो पनि एक थियो, जहाँबाट सुवास नेम्वाङले जित निकालेक ाथिए।
२०५६ को आमनिर्वाचनदेखि २०७९ सम्म नेम्वाङ निरन्तर यो क्षेत्रको प्रतिनिधि रहे। नेम्वाङको निधनपश्चात उनकै छोरा सुहाङ उपनिर्वाचनबाट संसद् छिरे। सुहाङ नेकपा एमालेबाट यसपालि पनि सो क्षेत्रबाट उम्मेदवार रहेका छन्।
एमालेको पक्षमा देखिएको इलाम २ को यो जनमतलाई यसपालि भने हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले चुनौती दिइरहेको छ। पूर्वी नेपालमा राम्रो माहोल बनाएको श्रम संस्कृतिबाट एमालेको परम्परागत गढ इलाम २ मा सुदीप राई प्रतिस्पर्धामा छन्।

सुदीप आफ्नो राजनीतिक यात्रा पारिवारीक राजनीतिक विरासतलाई धान्न ठिक्क चुनावबाट नभई इलामसँगको आजसम्मको संवादबाट आएका प्रश्नहरूसँगै सुरु भएको यात्रा भएको बताउँछन्।
विश्वविद्यालयका कक्षाकोठा र प्राज्ञिक लेखहरूमा उनले समाजलाई पढे, सत्ता कसरी बन्छ, नागरिक कहाँ हराउँछन्, र लोकतन्त्र किन धेरै पटक देखावटी संरचनामा सीमित हुन्छ भन्ने प्रश्नहरूका साथ। तर ती सबै अध्ययन र बहसको अन्तिम गन्तव्य बारम्बार एउटै ठाउँमा फर्किन्थ्यो – लोकतन्त्र, लोकतान्त्रिक पद्धतिको आत्मा जनप्रतिनिधित्व र इलामबाट हुने जनप्रतिनिधित्वको स्थिति। यहाँका हरिया चिया बगान, पहाडका उकाली ओरालीमा पसिनाले निथ्रुक्क भिजेका जीवन र राज्यसँग सधैँ अधुरो रहँदै आएको संवादको अनुभूति उनको आत्मचिन्तनको निष्कर्ष थियो। उनी भन्छन्, ‘खासमा इलाम मेरो जन्मथलो मात्रै होइन; मैले बुझ्ने लोकतन्त्रको सबैभन्दा ठोस पाठशाला पनि यही नै हो।’
उनी इलाम क्षेत्र नं. २ मा श्रम संस्कृति पार्टीको ‘नेता’ भन्दा पहिले ‘यहीँको मान्छे’ मान्छन्। इलामको माटोमा जन्मिएको, यहीँ हुर्किएको, यहाँको खोला, खेत र डाँडापाखालाई चिनेको, गाउँ–बस्ती आफ्नै पाइलाले नापेको र मानिसका दु:ख–आवश्यकतासँग लामो समयदेखि जोडिँदै आएका व्यक्ति हुन् उनी। त्यसैले यो आफ्ना लागि राजनीति कुनै पोस्टर बोय बन्ने प्रक्रिया नभई आफ्नै समुदायसँगको उत्तरदायित्वको सम्बन्ध भएको उनी बताउँछन्।
उनी भूइँमान्छेका पक्षमा लामो समयदेखि राजनीतिक अभियानमा संलग्न छन्, जसले उनलाई बोल्ने भन्दा पनि सुन्ने र काम गर्ने अभ्यासतर्फ बढी नजिक बनाएको छ। सुदीप राई आफ्नो विचारयात्रामा रत्नकुमार बान्तवाका पदचाप पछ्याउँदै हिँड्छन्। यसको अर्थ उनी इतिहासको अनुकरण मात्र गर्न चाहँदैनन्; बरु इलामको माटोबाट उठेर इलामकै आवाजलाई केन्द्रमा राख्ने राजनीतिक संस्कारलाई वर्तमानसँग जोड्न चाहन्छन्। यही आधारबाट उनी विकास र शासनको वर्तमान परिपाटीमाथि ठोस प्रश्न उठाउँछन्। उनी भन्छन्, ‘विकासका लागि सिंहदरबारबाट ‘रुङ्गने’ शैली अब तोडिनुपर्छ।’
निर्णय काठमाडौँमा हुन्छ, प्रभाव गाउँमा पर्छ, तर नागरिकले आफ्नै ठाउँमा निर्णय गर्ने शक्ति पाउँदैनन् भने विकास दिगो हुँदैन भन्ने विचार उनको छ। त्यसैले स्थानीय सरकारलाई बलियो बनाउनु पर्छ भन्ने उनको अभियान केवल प्रशासनिक नारा होइन; नागरिकको अधिकार र क्षमता अभिवृद्धिको प्रश्न भएको उनी बताउँछन्।

उनको अर्को जोड अझ प्रस्ट छ, विकासलाई भूइँमान्छेसँग जोड्नुपर्छ। डोजर चल्नु, बाटो बन्नु, भवन बन्नु र त्यसको उद्घाटन हुनु मात्रै विकास होइन; श्रमको सम्मान, रोजगारीको सुनिश्चितता, कृषक–उद्यमीको सुरक्षा, शिक्षा–स्वास्थ्यमा पहुँच, स्थानीय उत्पादन र बजारको सम्बन्ध—यी कुराले मात्रै विकासलाई जनजीवनसँग गाँस्छ। सुदीप राईको दृष्टिमा विकास तब मात्र मिठो हुन्छ जब त्यसको स्वाद सबैभन्दा कमजोर घरको भान्सासम्म पुग्छ। यही दृष्टिले उनी चुनावी मैदानमा उत्रिएका छन्।
नागरिक सत्ता स्थापना गर्न र लोकतन्त्रलाई सुदृढ बनाउन आफ्नो पुस्ता र आफ्नो वर्गले हस्तक्षेप गर्ने बेला आएको विश्वास उनमा छ। उनी प्रतिनिधित्वलाई टाढाको सत्ता होइन, नजिकको सेवा बनाउने पक्ष रहेको बताउँछन्।
‘जनताको प्रतिनिधि छुन सकिने, भेट्न सकिने र बोलाउँदा बोल्ने हुनुपर्छ,’ उनले भने।


