काठमाडौँ: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह ‘कमल’को उम्मेदवारी खारेज भएको छ। कर्जा सूचना केन्द्रको चेक बाउन्स र निर्माण सेवाको कालोसूचीमा रहेको पाइएपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको हो।
साहको नाम बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण फेला परेपछि उम्मेदवारी खारेज भएको आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए। कर्जा सूचना केन्द्रको विवरण अनुसार कमल निर्माण सेवा प्रालिका सेयरधनी किशोरी २०८० कालोसूचीमा रहेको थियो।
विभिन्न मितिमा उनको नाम एकल र संयुक्त रुपमा समेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेको देखिन्छ।
किशोरी २०७४ सालको प्रदेशसभा निर्वाचनमा धनुषा (१) बाट नेकपा एमालेबाट निर्वाचित भएका थिए। २०७९ मा टिकट प्राप्त नगरेपछि जनमत पार्टीमा प्रवेश गरेर प्रतिनिधिसभा निर्वाचन लडेका थिए। तर पराजित भएपछि पुन: एमाले फर्किएका उनी केही समयअघि मात्रै रास्वपा प्रवेश गरेका हुन्।
किशोरीको उम्मेदवारी खारेज भएसँगै अब धनुषा १ मा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट रामपल्टन साह, नेकपाबाट मातृकाप्रसाद यादव,जसपाबाट दीपक कार्की, जनमतबाट ब्रह्मदेव महतोलगायत उम्मेदवार रहेका छन्।


