काठमाडौँ: फागुन २१ गते, बिहीबार प्रतिनिधिसभा निर्वाचनका लागि मतदान हुँदैछ। मतदानका लागि सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदाका दिन पनि बैंकिङ सेवा भने सुचारु रहनेछ।
नेपाल राष्ट्र बैंकले निर्वाचनको बिदाका दिन पनि सीमित बैकिङ सेवा सञ्चालनमा राख्न निर्देशन दिएसँगै बैंकहरूले सेवा दिने भएका हुन्। राष्ट्र बैंकले सीमित बैकिङ कारोबार खुला राख्न निर्देशन दिएको हो।
बैंकले सरकारी कारोबार गर्ने एजेन्सी बैंक तथा राजनीतिक दल र उम्मेदवारका निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाद्वारा रकम दाखिला तथा भुक्तानीलगायत वित्तीय सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाइएको हो।
प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ।







