काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा २६ वर्षीय सहाब आलम अन्सारी, धनुषाधाम नगरपालिका–९ का ३० वर्षीय सुरज कार्की र पर्सागढी नगरपालिका–३ का ६८ वर्षीय सत्यनारायण थारुसमेत रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साकाबाट खटिएको प्रहरी टोलीले नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर उनीसहित चार जनालाई प्रक्राउ गरेको हो।

चौधरी सवार गाडीबाट शंकास्पद वस्तु समेत फेला परेको प्रहरीले जनाएको छ। पत्रकार सम्मेलनमा पर्सा प्रहरी उपरीक्षक सुदीपराज पाठकले हरपुरबाट बडनिहारतर्फ आउँदै गरेको बा १० च १२५० नम्बरको गाडीको पछाडिपट्टि डिक्कीमा टेपले बेरिएको चौपाटे आकारको टिनको बाकस फेला पारेको र उक्त वस्तु बम बनाउन प्रयोग हुने विष्फोटक सामग्री ‘होक्स’ भएको बताए।

घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।