काठमाडौं। अमेरिका र इजरायलले इरानमाथि जारी आक्रमणले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ आकासिएको छ। शनिबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर १०३.२ डलर पुगेको छ।
मुरबान क्रुडमा मात्रै कच्चा तेलको भाउ ९.२४ प्रतिशतसम्म बढेको आयल प्राइस डटकमले जनाएको छ। यस्तै ब्रेन्ट क्रुडमा ८.५२ प्रतिशत बढेर ब्यारेलको ९२.६९ डलर पुगेको छ। डल्युटीआई क्रुडमा १२.२१ प्रतिशत बढेर ९०.९० डलरसम्म पुगेको छ।
मध्यपूर्वमा युद्ध जारी रहेकाले सन् २०२२ को रेकर्डलाई तोड्ने संभावना बढेको छ। रुसले युक्रेनमाथि युद्ध सुरु गरेपछि कच्चा तेलको भाउ बढेर ब्यारेलको १४० डलरसम्म पुगेको थियो। त्यसपछि घटेर ५५ डलरमा आएको थियो।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर बढेकाले नेपालमा पनि यसको ठूलो असर पर्ने देखिएको छ। नेपालमा पनि पेट्रोलियम पदार्थको भाउ आकासिने र यसले मूल्य बढाउने संभावना छ। आपूर्तिमा समस्या नपरे पनि यसको असर मूल्यमा पर्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीका भट्टले बताएका छन्।
अमेरिका र इजरायलले गत शनिबार बिहानदेखि इरानमाथि आक्रमण गरिरहेका छन्। राजधानी तेहरानमा भीषण आक्रमण जारी छ।
अमेरिका र इजरायलको आक्रमणपछि इरानले पनि कतार, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, साउदी अरेबिया र जोर्डनका साथै इजरायलमाथि जवाफी मिसाइल आक्रमण गरिरहेको छ।
यसले मध्यपूर्वमा हवाइ उडान बन्द हुनुका साथै जल यातायात पनि अवरुद्ध हुन पुगेको छ।
यदी युद्ध जारी भएमा यसको असर नेपाललाई पनि ठूलो पर्ने देखिएको छ। ठूलो परिमाणमा पेट्रोलियम पदार्थको उत्पादन र आपूर्ति गर्दै आएका मध्यपूर्वका मुलुकहरु युद्धमा गएपछि कच्चा तेल आपूर्तिमा ठूलो असर पर्ने देखिएको छ। यसले कच्चा तेल आपूर्तिमा मात्र नभई बहुपक्षीय असर पर्ने विश्लेषकहरुको भनाई छ।
पहिलो असर कच्चा तेल आपूर्तिमा पर्नेछ। विश्वको एकतिहाइ बढी कच्चा तेलको व्यापार हुने हरमुज क्यानल बन्द भएको छ। यो पर्सियन खाडी र ओमान हुँदै जान्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हजमुज क्यानलाई सुचारु गर्ने बताएका छन्।
क्यानल बन्द भए आपूर्ति र सामुन्द्रिक यातायातमा असर पर्नेछ। यो क्यानल बन्द हुँदा साउदी अरेबियालगायत अन्य मुलुकबाट आउने तेलमा असर पर्नेछ।
यो वर्ष विश्व तेल बजार कमजोर रहने अनुमान गरिएको थियो। तर, अमेरिका इरान युद्धले यो प्रक्षेपणलाई फरक पार्ने देखिएको छ। वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्युटीआई) को तेलको भाउ २०२६ को अन्त्यमा ब्यारेलको ६२ डलरमा रहने अनुमान तेल कम्पनीहरुले गरेका छन्।
जुन अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले २०२५ को लागि प्रक्षेपण गरेको औसत ६५.३२ प्रति ब्यारेल भन्दा कम हो। एजेन्सीले २०२६ मा ब्रेन्ट क्रूडको औसत मूल्य ब्यारेलको ५५.०८ डलर हुने अनुमान गरेको छ। डब्ल्युटीआईको औसत ५१.४२ ब्यारेल हुने अपेक्षा गरिएको छ।
यस्तै आगामी सन् २०२७ र २०२८ मा कच्चा तेल ब्यारेलको औसत ६९, २०२९ र २०३० सम्ममा ब्यारेलको ७५ डलर हुने अनुमान गरिएको छ। कच्चा तेलका साथै सुन र डलरको भाउ उकालो लागेको छ। विश्वमा महंगी बढ्ने संभावना देखिएको छ।


